फिल्म ‘आ बाट आमा २’ मा मलिका महतको इन्ट्री; पूरा भयो मुख्य कलाकारको लाइनअप
काठमाडौं : चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’को मुख्य अभिनेत्रीका रूपमा मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र र मलिकाबीच फिल्मका लागि सम्झौता भयो।
मलिका फिल्ममा अनुबन्ध भएसँगै तीन वटै हिरोइन फाइनल भएका छन्। यसअघि अभिनेत्रीका रूपमा रिश्ता गुरुङ, निकिता आचार्य अनुबन्ध भइसकेका छन्। पल शाहको जोडी मलिकालाई दर्शकले खोजिरहेको दाबी गर्दै निर्माण पक्षले दर्शकको चाहाना अनुसार उनलाई फिल्ममा भित्र्याइएको जनाएको छ।
फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन्। फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयमले लेखेका हुन्।
केही सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्म आगामी दसैंमा अर्थात असोज ३० गतेबाट प्रदर्शनमा ल्याउने तयारी छ। फिल्मको घोषणा हुँदै गर्दा अमेरिका र क्यानडामा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको निर्माण पक्षले जानकारी दियो।
नेपालमा फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दै छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो।
जेठ १७, २०८३ आइतबार १३:१८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।