पारिवारिक संकटको कथामा बनेको फिल्म ‘गौँथली’को टिजर सार्वजनिक
काठमाडौं : आगामी साउन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। डा. कपिल रिजालको निर्देशनमा तयार भएको फिल्मले पारिवारिक संघर्ष र सामाजिक कथालाई समेटेको छ।
सार्वजनिक टिजरमा कलिलो उमेरमा विवाह गरेकी एक युवतीले घरमा भोग्नुपरेको पीडा र छोरीको घर बसाउन आमाले गरेको प्रयासलाई प्रस्तुत गरिएको छ।
पढ्ने रहर हुँदाहुँदै विवाह हुँदा युवती (सिम्रन खड्का) र उनका श्रीमान् (अरुण क्षेत्री) बीचको अस्वाभाविक सम्बन्ध र त्यसले निम्त्याएको पारिवारिक संकट टिजरको मुख्य विषयवस्तु रहेको छ।
फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली लगायतको अभिनय रहेको छ। डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
‘गौँथली’लाई प्रतीकात्मक रूपमा घर, परिवार र आपसी सामीप्यताको अर्थमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्मलाई हरि हुमागाईंले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। करिब दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’लाई नेपालको पहिलो सफल सांगीतिक फिल्म मानिन्छ।
अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ कथावस्तुमा आधारित भएर यो फिल्म निर्देशन गरेका हुन्। यसलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।
जेठ १७, २०८३ आइतबार ११:१०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।