‘पूर्ण बहादुरको सारङ्गी’कै बाटोमा ‘रोल नं १’, दर्शकको बलियो 'वर्ड अफ माउथ'

‘पूर्ण बहादुरको सारङ्गी’कै बाटोमा ‘रोल नं १’, दर्शकको बलियो 'वर्ड अफ माउथ'

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रोल नं १’ ले बक्स अफिसमा सकारात्मक सुरुवात गरेको छ। 

शुक्रबार हल पुगेका दर्शक र सञ्चारमाध्यमबाट पाएको राम्रो वर्ड अफ माउथका कारण चलचित्रले राम्रो गति लिनेमा निर्माता विनोद पौडेल पूर्ण रूपमा ढुक्क देखिएका छन्।

सामाजिक सञ्जालमा दर्शकहरूले ‘रोल नं १’केवल साढे २ घण्टा समय बिताउने फिल्म मात्र नभई, मनभित्र लामो समयसम्म छाप छोड्ने एक उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिइरहेका छन्। केही दर्शकले त यसलाई यसअघिको ऐतिहासिक ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ सँग तुलना गर्दै 'हेर्नै पर्ने फिल्म' को रूपमा सिफारिस गर्न थालेका छन्।

चलचित्रले उठाएको समसामयिक विषयवस्तुलाई दर्शकहरूले विशेष रुचाएका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा राम्रो सिनेमा हेर्न नछुटाउनुस् है भन्नै स्टाटस आउन थालेपछि र सिनेमा हेर्ने बालबालिकाले आफू र आफ्ना अभिभावकले हेर्नै पर्ने भन्दै प्रतिक्रिया दिन थालेका छन्।

यस्तै प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक सिनेमा बनेको भन्दै निर्माता पौडेलले त्यही बाटो ‘रोल नं १’ले पनि समाउनेमा आशावादी देखिएका छन्।

स्कुले शिक्षा, त्यसको महत्व र अहिलेको मूल्यांकन विधिले बालबालिकामा परिरहेको असरको कथा र अभिभावकले दिने दबाब तथा त्यसको प्रभावलाई दशर्कले मन पराएको निर्माता पौडेलले बताएका छन्।

“हामीले जुन उद्देश्य र अपेक्षा राखेका थियौँ, जसरी सिनेमा दर्शकले बुझ्नु हुनेछ भन्ने अपेक्षा राखेका थियौँ,” विनोद भन्छन्, “हामी यसमा सफल भएका छौँ। दर्शकले दिएको प्रतिक्रियाले हामीलाई निकै उत्साहित बनाएको छ।”

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा आएको प्रतिक्रियाको झल्को आफूले महसुस गरिरहेको उनले बताएका छन्।

दर्शकको प्रतिक्रिया बुझ्न मुख्य कलाकारहरू यतिबेला मोफसलका हलहरूमा पुगेका छन्। अभिनेता मुकुन भुसाल, सुशांक मैनाली र शंकर आचार्य झापाका विभिन्न सिनेमा हलमा पुगेर दर्शकलाई भेटिरहेका छन्। झापाबाट सुरु भएको यो यात्रा देशका अन्य प्रमुख सहरहरूमा पनि जारी रहने निर्माण टिमले जनाएको छ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्।

जेठ १७, २०८३ आइतबार ११:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।