घोडा चढ्दा लडे अभिनेता विजय बराल, फ्याक्चर भयो दाइने हात
काठमाडौं : अभिनेता विजय बराल फिल्म ‘सिन्दुरे जात्रा’ छायांकनको क्रममा घाइते भएका छन्। एक साताअघि फिल्मको एक दृश्यका लागि घोडा चढ्ने क्रममा उनी खसेका हुन्।
निर्देशक सरोज पौडेलका अनुसार उनको दाहिने हातको नाडीमा गहिरो चोट लागेको छ।
पौडेलले भने, "यो घटना एक साताअघिको हो। घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा अभिनेता बराल दुर्घटनामा पर्नुभएको हो। अहिले आराम गरिरहनु भएको छ।"
उनी घोडाबाट लगेपछि तत्कालै कुस्मामा प्राथमिक उपचारपछि पोखरा लगिएको निर्माण पक्षले जानकारी दिएको छ। मुख्य अभिनेता नै घाइते भएपछि निर्माण पक्षका सम्पूर्ण टिम काठमाडौं फर्किएको छ।
३५ दिनमा छायांकन सक्ने हिसाबले काम थालिएको यो फिल्मको सुटिङ अब असार १५ गतेपछि मात्र सुरु हुने पौडेलले जानकारी दिए। फिल्म ‘पूर्णबहादुर सारङ्गी’का निर्देशक पौडेलले सोही फिल्ममा कलाकारद्वय विजय बराल र अञ्जना बराइलीलाई यस फिल्ममा अभिनय गराइरहेका छन्।
उनीहरूको यो दोस्रो सहकार्य हो। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिका रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक स्वयंको छ। आरआर फिल्मसले वितरण गर्ने यस फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ।
जेठ १६, २०८३ शनिबार २१:२२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।