भावुक मुडमा ‘मुन्द्रे’, वर्षा राउतसँग जोडी बाँधिएको ‘आइ एम जीत बहादुर’को ट्रेलर आउट

भावुक मुडमा ‘मुन्द्रे’, वर्षा राउतसँग जोडी बाँधिएको ‘आइ एम जीत बहादुर’को ट्रेलर आउट

काठमाडौं : वर्षौंदेखि दर्शक हँसाउँदै आएका अभिनेता जितु नेपाल यस पटक दर्शकको आँखा रसाउने मुडमा देखिएका छन्।

उनकै मुख्य भूमिका र निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। फिल्म आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।

ट्रेलरमा जितुलाई कलाकार बन्ने सपना बोकेर सहर छिरेको र सङ्घर्ष एउटा सोझो गाउँले ठिटोको भूमिकामा देखाइएको छ।

करियरको तीन दशक हास्यविधामा बिताएका जितुको यो गम्भीर अवतारलाई दर्शकले निकै चासोका साथ हेरेका छन्।

फिल्ममा उनको जोडी सुन्दरी अभिनेत्री वर्षा राउतसँग बाँधिएकाले पनि यो जोडी कस्तो जम्ला भन्ने कौतुहलता सिने वृत्तमा छ।

भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको यस चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री र पवन खतिवडा ‘म्याकुरी’को पनि अभिनय छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्मित यस चलचित्रको प्राविधिक काम भारतमै गरिएको हो भने यसको वितरण आरआर फिल्म्सले गर्दैछ।

जेठ १६, २०८३ शनिबार ११:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।