साउन २२ मा ‘हली’, पोस्टरमा देखियो कलाकारको टसल
काठमाडौं : वास्तविक जीवनको कथामा आधारित सामाजिक चलचित्र ‘हली’ आगामी साउन २२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा सरोज खनाल, सुजाता थापा, प्रमोद दीप र स्वयम् निर्देशक ओम प्रतीक आक्रोशित मुद्रामा प्रस्तुत भएका छन्।
‘देश बदल्न एक जना हली नै काफी छ’ भन्ने सन्देश बोकेको यस चलचित्रलाई गत वर्ष ‘मोहर’ हिट दिएका ओम प्रतीकले नै लेखेका हुन्। गम्भीर सामाजिक कथावस्तु भए पनि फिल्ममा ग्ल्यामरको खुराक पनि उत्तिकै बलियो छ।
फिल्मको प्रमोशनल गीतमा दीपाश्री निरौला, दिलीप रायमाझी, प्रियङ्का कार्की, किरण केसी र पूजा शर्मा जस्ता शीर्ष स्टारहरूले कम्मर मर्काएका छन्, जसको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको यस चलचित्रमा शम्भुजित बास्कोटा र बाबुल गिरीको सङ्गीत तथा राहुल राईको छायाङ्कन रहेको छ।
जेठ १६, २०८३ शनिबार ११:२८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।