देशभर १५० शोका साथ ‘रोल नं १’ को बुकिङ खुला
काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को अग्रिम बुकिङ खुला गरिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स लगायतका सिनेमा हलहरूले बिहीबारबाट बुकिङ सुरु गरेका हुन्।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको यस फिल्मले देशभर करिब १५० शो पाएको वितरक कम्पनी रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले जनाएका छन्।
काठमाडौंमा क्यूएफएक्सले १६ शो र उपत्यकाबाहिर १९ शो उपलब्ध गराएको छ। त्यस्तै, आइएनआइ सिनेमाजले १८, वान सिनेमाजले ५ र बिग मुभिजले ४ शो दिएका छन्। अन्य केही हलहरूले पनि शो संख्या सार्वजनिक गर्ने क्रम जारी रहेको वितरक करण श्रेष्ठले जानकारी दिए।
‘हरेक विद्यार्थीको कथा’ भन्ने नाराका साथ निर्माण गरिएको यस फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
निर्माण टिमले झापादेखि नेपालगञ्जसम्मका विभिन्न विद्यालयहरूमा पुगेर फिल्मको प्रचारप्रसार गरेको थियो। सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले फिल्मको विषयवस्तुलाई सकारात्मक प्रतिक्रिया दिएको निर्माता पौडेलले बताए।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्मको कथा महेश दवाडीले लेखेका हुन् भने छायाङ्कन शिवराम श्रेष्ठले गरेका छन्।
जेठ १४, २०८३ बिहीबार १८:४६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।