प्रहरीको दैलोमा मिल्यो ‘रावायण’ लफडा : पूजाले गोजीबाट ८ लाख निकाल्दा सुदर्शन सस्तैमा परे
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा फिल्म बन्नु र रिलिज हुनु मात्र ठूलो कुरा रहेनछ, फिल्म हलबाट उत्रिएको दुई वर्षसम्म पनि पैसाको ‘लफडा’ चलिरहँदो रहेछ।
हो, हामी कुरा गर्दैछौँ दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रावायण’को। लामो समयदेखि थन्किएको यो फिल्मको प्राविधिकहरूको पारिश्रमिक विवाद अन्ततः प्रहरीको दैलोमा पुगेर टुङ्गिएको छ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा फिल्मका निर्देशक सुदर्शन थापा, नायिका पूजा शर्मा र प्राविधिक संघबीच छलफल चल्यो।
छलफलले नायिका पूजा शर्माको गोजी यसपालि अलि बढी नै रित्तिने निष्कर्ष निकाल्यो। कुल १२ लाख रुपैयाँको यो लफडामा पूजाले आफ्नो तर्फबाट ८ लाख र निर्देशक सुदर्शनले ४ लाख रुपैयाँ प्राविधिकहरूलाई बुझाउने गरी कागजी सम्झौता गरेका छन्।
हुन त यो फिल्म सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको हो। सेन्सर बोर्डको सर्टिफिकेट हेर्दा निर्मातामा सुदर्शनकै नाम छ, तर फिल्मको पोस्टर र टिजर-ट्रेलरमा भने पूजा शर्मालाई ‘निर्माता’को रूपमा राखिएको थियो।
यही ‘क्रेडिट’ र बजेटको आपसी आरोप-प्रत्यारोपमा प्राविधिकहरूको पसिनाको कमाइ बीचमै अड्किएको थियो। तर जे होस्, प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको सक्रियतामा प्राविधिकहरूले आफ्नो हिस्सा पाउने पक्का भएको छ।
यतिबेला पूजा शर्मा यी सबै झमेलालाई थाती राख्दै आफ्नो नयाँ प्रोजेक्ट ‘महाराजधिराज’को सुटिङमा व्यस्त छिन्।
काण्ड ‘रावायण’को मात्र होइन। पुस्कर लामाका अनुसार नेपाली फिल्म क्षेत्रका झन्डै ४० वटा फिल्मका मेकरहरूले प्राविधिकहरूको पैसा पचाएर बसेका छन्। कसैको १० लाख त कसैको १ करोडसम्म बाँकी छ रे!
संघले अब ती उधारोमा काम गराउने निर्माता-निर्देशकहरूलाई कडा चेतावनी दिँदै भनेको छ- ‘समयमै पैसा तिरे मिल्ने बाटो रोजौँला, नत्र सिधै कानुनी डण्डा बर्सिन्छ!’
पूजा र सुदर्शनको ‘रावायण काण्ड’ त प्रहरीको रहोबरमा मिल्यो, अब पालो बाँकी ४० उधारो फिल्मवालाहरूको! क-कसको गोजीबाट कति झिकिने हो, त्यो भने हेर्न बाँकी नै छ।
जेठ १४, २०८३ बिहीबार १२:३८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।