वर्षा सिवाकोटीलाई फिल्मको चटारो : एकपछि अर्को फिल्ममा व्यस्त

वर्षा सिवाकोटीलाई फिल्मको चटारो : एकपछि अर्को फिल्ममा व्यस्त

काठमाडौं : अभिनेत्री वर्षा सिवाकोटी यतिबेला फिल्मको काममा निकै व्यस्त छिन्। उनको हातमा एकपछि अर्को फिल्मका प्रस्तावहरू आइरहेका छन्। एउटा फिल्मको छायांकन सकिन नपाउँदै उनी अर्को फिल्ममा अनुबन्धित भइरहेकी छन्।

फिल्म ‘कस्तुरी’को छायांकन सकिए लगत्तै उनी अर्को फिल्म ‘टिका’मा अनुबन्धित भइन्। केही साताअघि यस फिल्मको शुभ मुहूर्तसमेत भइसकेको छ। यो फिल्मको काम नसकिँदै उनी राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘गंगारानी’मा अनुबन्धित भएकी छन्। 

निर्माण टोलीले मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै वर्षालाई मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरिएको जानकारी दियो। यसअघि उनी कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’मा पनि अनुबन्ध भइसकेकी छन्, जसमा उनीसँगै निखिल उप्रेतीको अभिनय रहनेछ।

फिल्ममा एकपछि अर्को अनुबन्ध भइरहँदा समय व्यवस्थापन गर्न नसकेपछि उनले यसअघि केही फिल्म छाड्नुपर्ने अवस्थासमेत सिर्जना भयो। शुभ मुहूर्त भइसकेको फिल्म ‘कार्की साइँला’ वर्षाले समयकै अभावका कारण छाड्नुपरेको थियो। छ महिनासम्म छायांकन रोकिएको उक्त फिल्मको काम सुरु हुने समय र वर्षाको अर्को फिल्म ‘कस्तुरी’को छायांकन समय एकै पटक जुधेपछि उनले उक्त फिल्मबाट हात झिकेकी थिइन्।

हाल वर्षाको हातमा ‘कस्तुरी’ बाहेक अन्य तीन वटा फिल्म रहेका छन्। ‘कस्तुरी’को अधिकांश काम सकिइसकेको छ। वर्षाको फिल्म र छायांकनका साथै डबिङको व्यस्ततालाई हेर्दा यस वर्ष बक्स अफिसमा उनका फिल्महरूको बाहुल्य रहने देखिन्छ। फिल्मको चाप हेर्दा आगामी छ महिना उनी फिल्मकै काममा व्यस्त रहनेछिन्। 

जेठ १२, २०८३ मंगलबार २२:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।