बक्स अफिसमा नेपाली फिल्म : ६ करोडको सुखद कमाइदेखि ५ लाखको दयनीय अवस्था
काठमाडौं : नेपाली फिल्म क्षेत्रका लागि २०८१ को सुरुवात त्यति उत्साहजनक देखिएको छैन। वैशाखयता प्रदर्शनमा आएका फिल्महरूको व्यापारिक आंकडाले बक्स अफिसमा एक प्रकारको हाहाकार जस्तो देखिन्छ। यद्यपि, केही फिल्मले भने मन्दीको खडेरीमा पनि निर्माताको साख जोगाउँदै बक्स अफिसमा संघर्ष गरिरहेका छन्।
चर्चाको शिखरमा रहेको फिल्म ‘लालीबजार’ले बक्स अफिसमा अन्य फिल्मको व्यापारिक आंकडाको तुलनामा राम्रो प्रदर्शन गरेको छ। वादी समुदायको विवाद र अदालती झमेला छिचोल्दै वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्मले अहिले हलहरूमा दर्शकको राम्रो साथ पाएको देखिन्छ।
स्वस्तिमा खड्काको सशक्त अभिनय रहेको यस फिल्मले हालसम्म १ लाख ९६ हजार ४०६ वटा टिकट बिक्री हुँदा ६ करोडको व्यापारिक आंकडा भेट्न लागेको छ। शनिबार रातीसम्ममा फिल्मले बक्सअफिसमा ५ करोड ७६ लाख ३९ हजार ग्रस कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार यो व्यापारिक आंकडा यस वर्षकै अहिलेसम्मको सर्वाधिक रेकर्ड हो। यम थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमाका साथै रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ लगायतको अभिनय गरेको छ।
‘परालको आगो’को राप र ताप
वैशाख ११ बाट प्रदर्शनमा आएको ‘परालको आगो’ले पनि बक्स अफिसमा तुलनात्मक रूपमा आफ्नो राम्रो उपस्थिति जनाएको छ। लक्ष्मण सुनारको निर्देशन रहेको यो फिल्मले ४ करोड २७ लाख ५३ हजार रुपैयाँको व्यापार गर्दै वर्षको दोस्रो सफल फिल्मको ट्याग भिरेको छ। १ लाख ५३ हजार ९२५ दर्शकलाई हलसम्म तान्न सफल फिल्ममा प्रकाश सपुत, सुहाना थापा र सौगात मल्ल जस्ता हस्तीहरूको अभिनय छ।
आँचलको जादु ५ लाखमै थन्कियो
जतिबेला स्वस्तिमा खड्का करोडको क्लबमा रमाइरहेकी छिन्, अर्की चल्तीकी अभिनेत्री आँचल शर्माका लागि भने जेठ १ गते धराशायी दिन साबित भयो। उनले अभिनय गरेको फिल्म ‘एक मुठ्ठी बादल’ बक्स अफिसमा नराम्रोसँग पछारिएको छ। फिल्मले गत शनिबारसम्म जम्मा एक हजार ५०१ जना दर्शक मात्र पाउन सक्यो। यसको कुल कमाई ५ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ।
आशा र निराशाको दोसाँध
गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ले पनि आशातीत व्यापार गर्न सकेन। वैशाख २५ बाट प्रदर्शनमा आएको फिल्मले ५१ लाख ६३ हजार रुपैयाँ संकलन गर्दा १६ हजार १३७ टिकट बिक्री भएको छ। विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मलाई प्रकु पाण्डेले निर्देशन गरेका हुन्।
यस्तै, मिथिला शर्मा अभिनीत ‘गुरुआमा’ले २९ लाख ४२ हजार रुपैयाँ र जेठ १ बाटै प्रदर्शनमा आएको सुरक्षा पन्तको ‘लाइफ ड्यामेज’ले २८ लाख ४६ हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ। ९ हजारको हाराहारीमा दर्शक पाएका यी दुवै फिल्मले व्यावसायिक सफलताको स्वाद चाख्न सकेनन्।
समग्रमा हेर्दा, नेपाली फिल्मको बक्स अफिसमा अहिले स्वस्तिमाको लालीबजारले राहतको दिइरहँदा अन्य फिल्महरू भने दर्शकको अभाव झेलेका छन्। ६ करोडको राहत दिने आंकडा र ५ लाखको दयनीय अवस्थाले नेपाली फिल्मको लगानी धरापमा पारेको देखाउँछ।
जेठ १२, २०८३ मंगलबार १५:३४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।