निर्देशक चन्द्र पन्तको चतुर 'प्रचार शैली' : ‘आ बाट आमा २’ मा किस्ताकिस्तामा कलाकार छनोट

निर्देशक चन्द्र पन्तको चतुर 'प्रचार शैली' : ‘आ बाट आमा २’ मा किस्ताकिस्तामा कलाकार छनोट

काठमाडौं : आगामी दसैँमा प्रदर्शन गर्ने घोषणा गरिएको फिल्म ‘आ बाट आमा २’ को कलाकार छनोट प्रक्रिया अझै जारी छ। 

तर, निर्माण टिमले जसरी किस्ताकिस्तामा कलाकारहरूको नाम सार्वजनिक गरिरहेको छ, त्यसलाई चलचित्र वृत्तमा निर्देशक तथा निर्माता चन्द्र पन्तको एउटा बलियो र चतुर प्रचार शैलीका रूपमा हेरिएको छ।

फिल्मका लागि गत फागुन १० गते अभिनेता पल शाहको जन्मदिन पारेर उनलाई अनुबन्ध गरियो। त्यसको ठीक एक महिनापछि चैत ९ गते अभिनेत्री विपना थापा भित्रिइन्। वैशाख २३ गते सबिन श्रेष्ठ जोडिए भने हिजो मात्रै ‘मेरो डान्स युनिभर्स २’ की विजेता रिस्ता गुरुङलाई अभिनेत्रीका रूपमा भित्र्याइएको छ।

विगत चार महिनाको अवधिमा पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र रिस्ता गुरुङसहित आधा दर्जन बढी कलाकारहरू अनुबन्ध भइसकेका छन्। अझै केही कलाकार छनोट हुन बाँकी नै रहेकाले कलाकार भित्र्याउने यो शृङ्खला आगामी दसैँसम्म नै चलिरहने सङ्केत देखिन्छ।

चन्द्र पन्तले यसरी किस्ताकिस्तामा कलाकार भित्र्याउनु फिल्मका लागि राम्रो प्रचार सामाग्री बनेको छ। हुनपनि आगामी दसैँमा बक्स अफिसमा नेपाली फिल्मको महाभिडन्त हुँदैछ। दसैँकै लागि चारवटा ठुला फिल्म लाइनमा छन्। छक्का पञ्जा टिमको ‘छ माया छपक्कै २’, अनमोल केसीको ‘बाटुलो जुन’ र विराज भट्टको ‘१२ गाउँ २’ सुटिङको अन्तिम चरणमा छन्। यी फिल्महरू बर्खायाममा डबिङ सकाएर प्रचारप्रसारमा जाने तयारीमा छन्।

यसरी ठुला ब्यानर र स्टारहरूको भीडमा आफ्नो फिल्म चेपुवामा नपरोस् र मिडियाको चर्चाबाट ओझेल नहोस् भन्नका लागि निर्देशक पन्तले निकै चलाखी गरीरहेका छन्। अरू फिल्मले चुपचाप काम गरिरहँदा पन्तले भने यही मौकामा फिल्मको हाइप बलियो बनाइरहेका छन्। 

दसैँको भीडभाडमा प्रचारको भ्याइनभ्याइ हुनुभन्दा अगाडि नै बजारमा 'बज' क्रिएट गर्न चन्द्र पन्त निकै अगाडि देखिएका छन्।

जेठ ११, २०८३ सोमबार १६:५३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।