साइबर ब्यूरोको सोधपुछपछि कमेडियन श्रेष्ठले मागे माफी : 'मबाट गल्ती भयो, सरी'

साइबर ब्यूरोको सोधपुछपछि कमेडियन श्रेष्ठले मागे माफी : 'मबाट गल्ती भयो, सरी'

काठमाडौं : हास्यव्यङ्ग्यका नाममा अश्लील र अमर्यादित सामग्री प्रसारण गरेको भन्दै प्रहरीको साइबर ब्यूरोले तीन जना कलाकारलाई सचेत गराएको छ। 

पडकास्टका माध्यमबाट असभ्य शब्दहरू प्रयोग गरी युट्युबमा भिडियो सार्वजनिक गरेको भनेर ब्यूरोले सजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमलाई बोलाएर सोधपुछ गर्यो। 

उनीहरूलाई अब उप्रान्त सामाजिक सञ्जालमा यस्ता अमर्यादित क्रियाकलाप नदोहोर्याउने सर्तमा सम्झाई-बुझाई गरी छोडिएको ब्यूरोले जनाएको छ। 

सजन श्रेष्ठको युट्युब च्यानलबाट प्रसारण हुने ‘इन द लास्ट कोइसन’ नामक कार्यक्रममा प्रयोग गरिएका भाषा र विषयवस्तु परिवारसँग बसेर हेर्न नमिल्ने खालका रहेको गुनासो सर्वसाधारणबाट आएपछि प्रहरीले उनीहरूलाई सम्झाई-बुझाई गरेको जनाएको छ। 

यस विषयमा सुरुमा प्रतिक्रिया दिन नचाहेका सजन श्रेष्ठले पछि सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले एक सञ्चारमाध्यममा प्रकाशित समाचार सेयर गर्दै लेखेका छन्, "मबाट गल्ती भयो, सरी (माफ पाउँ)।"

सजन श्रेष्ठ यसअघि ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा आबद्ध थिए भने उत्सव सापकोटा ‘कमेडी दरबार’मा आबद्ध थिए। 

जेठ ८, २०८३ शुक्रबार १९:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।