लामो समयपछि पत्रकारमाझ झुल्किए निखिल, ‘आचार्य’को प्रदर्शनअघि सम्बन्ध सुधारको प्रयास ?
काठमाडौं : पछिल्लो समय आध्यात्मिक प्रवचकका रूपमा देखिएका अभिनेता निखिल उप्रेती यतिबेला आफ्नो नयाँ फिल्म ‘आचार्य’को काममा व्यस्त छन्। फिल्मलाई दसैँअगाडि नै प्रदर्शन गर्ने लक्ष्यका साथ उनी प्राविधिक कार्यमा सक्रिय छन्।
ऋत बोहोरा निर्देशित फिल्म ‘कस्तुरी’को छायाङ्कन सकेका निखिल ‘आचार्य’मार्फत पुनः एक्सन अवतारमा पर्दामा देखिँदै छन्। यसपश्चात् उनले कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’मा काम गर्ने तय भएको छ।
अभिनेत्री रेखा थापाको फिल्म ‘३६ को आँकडा’मा काम नगर्ने निर्णय लिएका निखिलले अन्य ब्यानरका फिल्ममा भने काम गरिरहेका छन्। पछिल्लो समय ‘राधे’ र ‘पिंजडा ब्याक अगेन’ले व्यावसायिक रूपमा अपेक्षित सफलता नपाएपछि उनी यस पटक सशक्त पुनरागमनको योजनामा देखिन्छन्।
लामो समय फिल्मी पत्रकार र फिल्मकर्मीसँग दुरी बनाएका निखिल पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमार्फत पुनः सम्बन्ध बिस्तारमा लागेको देखिन्छ। यसै वर्ष तीन वटा फिल्ममार्फत दर्शकमाझ आउन लागेका उनले पत्रकारहरूसँगको सम्बन्ध र भोगाइबारे आफ्ना धारणा राखेका छन्।
बिहीबार चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’को विशेष समारोहमा शुभकामना दिन पुगेका निखिलले कलाकार र पत्रकारको सम्बन्ध परिपूरक रहेको बताए।
“कहिलेकाहीँ पत्रकारसँग रिसाए जस्तो पनि हुन्छ, कहिलेकाहीँ खुसी पनि हुन्छौं। यो दुवै तर्फबाट चल्दै आएको छ,” उनले भने, “हामी कलाकारहरू पनि पत्रकार नआइदिँदा निराश देखिन्छौं, तर त्यसो हुनु जरुरी छैन। समयले सबै चिज स्पष्ट पार्दै लैजान्छ।”
उनको अभिव्यक्तिमा पत्रकारिता क्षेत्रप्रति केही गुनासो र केही अपेक्षा मिश्रित देखिन्थ्यो, यद्यपि उनले स्पष्ट रूपमा असन्तुष्टिको कारण भने खुलाएनन्।
२५ वर्षअघि फिल्म ‘पिँजडा’बाट एक्सन स्टारका रूपमा उदाएका निखिलको यो ‘कमब्याक’ कस्तो रहनेछ भन्नेमा धेरैको चासो छ। डेब्यु फिल्मबाटै उच्च चर्चा बटुलेका उनले तत्कालीन समयमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ जस्ता स्थापित नायकहरूकै बीच आफ्नो छुट्टै पहिचान बनाएका थिए।
‘मायाको जाल’, ‘कर्तव्य’, ‘शिवशक्ति’, ‘कुरुक्षेत्र’, ‘राम लक्ष्मण’, ‘हामी तीन भाइ’ लगायत दर्जनौं सफल फिल्म दिएका निखिललाई एक्सनमा अब्बल मानिए पनि अभिनयको विषयमा भने बेलाबेला समीक्षा हुने गरेको छ। सफल पुनरागमनका लागि उनले आफ्नो अभिनय र प्रस्तुतिमा थप मेहनत गर्नुपर्ने चुनौती भने कायमै छ।
जेठ ८, २०८३ शुक्रबार १७:३८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।