फ्राइडे रिलिज : हलमा थपिए विपिनको ‘काजी’ र दयाहाङको ‘मितज्यू’
काठमाडौं : शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन्। फिल्म ‘काजी’मा विपिन कार्की र केकी अधिकारीको मुख्य अभिनय रहेको छ भने ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर फिचर्ड छन्।
‘काजी’ र ‘मितज्यु’सँगै हलमा ‘लालीबजार’, ‘मालती मंगले’, ‘लाइफ ड्यामेज’, ‘एक मुठी बादल’ ६ वटा नेपाली र ६ विदेशी फिल्म प्रदर्शनमा छन्। यसमध्ये ‘लालीबजार’को हलमा दबदबा बलियै देखिन्छ। शुक्रबार दिउँसो १ बजेको समयमा खल्ती एपबाट यसको शो हेर्ने हो भने ५० भन्दा बढी छ।
स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानिया, मुकुन्द श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्। विवाद र अदालती झमेलाको परेको फिल्मले अहिलेसम्म ५ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले शुक्रबार दाबी गरेका छन्। दिउँसो एक बजे यसको शो हेर्दा देशभर ६३ वटा रहेको छ। जुन शुक्रबार दिउँसो हलमा पाएका शोहरु हुन्।
‘लालीबजार’सँगै प्रदर्शनमा आएको रामकृष्ण ढकाल निर्मित फिल्म ‘मालती मङ्गले’को शुक्रबार दिउँसो कुनै पनि शो उपलब्ध छैन। खल्ती एपमा उपलब्ध विवरण अनुसार, शनिबारका लागि पनि सिभिल मलमा बिहान सवा ११ बजे एक शो मात्र तय गरिएको छ।
आइतबारका लागि भने हलले हालसम्म बुकिङ खुला गरेको देखिँदैन। विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य अभिनय रहेको फिल्मले हलमा न्यून शो पाउनुले यसको कमजोर बजार उपस्थितिलाई दर्साउँछ।
फिल्म ‘काजी’मा विपिन कार्की र केकी अधिकारी शीर्ष भूमिका रहेको छ। लक्ष्मण रिजालको निर्देशनमा निर्माण गरेको फिल्म ‘काजी’ क्लासिक लभस्टोरीमा निर्माण गरिएको हो। फिल्ममा विपिन र केकीका अलवा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतमलगायतको अभिनय छ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरले निर्माण गरेको हो। फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत सुन्न सकिन्छ।
आजैबाट प्रदर्शनमा आएको ‘मितज्यू’मा दयाहाङ राई र सौगात मल्लका साथै तेरिया फौजा मगरको अभिनय देख्न सकिन्छ। नृत्यमा चर्चा कमाएकी तेरिया मगरको डेब्यु नेपाली फिल्म हो। अनिल बुढा मगर निर्देशित फिल्ममा दयाहाङ, सौगात र तेरियाका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, खड्गबहादुर पुनमगर लगायतको अभिनय छ। फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्।
जेठ ८, २०८३ शुक्रबार १५:२६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।