पारिश्रमिक नपाएपछि गायिका एलिना चौहान आक्रोशित
काठमाडौं : पछिल्लो पुस्ताका गायक गायिकाहरूमध्ये मेला-महोत्सवमा बढी माग हुने नाम हो, एलिना चौहान। समीक्षा अधिकारी र रचना रिमालसँगै एलिना पनि उत्तिकै मेला-महोत्सवमा हुन्छिन्।
गायकीमार्फत दर्शकलाई नचाउन र मनोरञ्जन दिएर स्टेज तताउन अब्बल गायिका एलिना आफूमाथि हुने अन्याय र नकारात्मक टिप्पणीको तत्काल प्रतिवाद गर्ने स्वभावका रूपमा पनि चिनिन्छिन्।
यतिबेला भारतको हरिद्वारमा रहेकी एलिनाले सामाजिक सञ्जालमार्फत आफूले पाउनुपर्ने पारिश्रमिक नदिएको भनेर एक आयोजकप्रति आक्रोश पोखेकी छन्। उनले समयमै आफ्नो पारिश्रमिक उपलब्ध गराउन चेतावनी समेत दिएकी छन्।
उनले कुन आयोजक वा कुन कार्यक्रमको पारिश्रमिक बाँकी रहेको भन्नेबारे विस्तृत विवरण भने खुलाएकी छैनन्। आयोजकले फोन नउठाएको र फेसबुकमार्फत पनि सम्पर्क हुन नसकेपछि आफू स्टाटस लेख्न बाध्य भएको उनले उल्लेख गरेकी छन्।
"कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनुहुन आयोजकज्यूलाई अनुरोध गर्दछु," चेतावनीपूर्ण शैलीमा उनले लेखेकी छन्, "अन्यथा म अर्को कदम चाल्न बाध्य हुनेछु।"
मेला-महोत्सवका आयोजकले कलाकारलाई पारिश्रमिक दिन आलटाल गर्ने समस्या नयाँ होइन। अन्य थुप्रै कलाकारहरूले यस्ता समस्या भोग्दै आए पनि भविष्यमा काम नपाइने डरले धेरैजसो मौन बस्ने गर्छन्। तर, एलिना भने पारिश्रमिक र आफ्नो हकका सवालमा सधैँ स्पष्ट र मुखर देखिँदै आएकी छन्।
जेठ ८, २०८३ शुक्रबार १४:५७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।