‘फुर्के नम्बर १’बाट टेलिश्रृंखलामा फर्किए विल्सन विक्रम

‘फुर्के नम्बर १’बाट टेलिश्रृंखलामा फर्किए विल्सन विक्रम

काठमाडौं : पहिलो फिचर फिल्म नै असफल भएपछि हाँस्य कलाकार विल्सन विक्रम राई हास्य टेलिश्रृंखला तथा म्युजिक भिडियोमा फर्किएका छन्।

थुप्रै टेलिश्रृंखला तथा म्युजिक भिडियोमा निर्देशन गरिसकेका राईको निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ गत कार्तिक ७ गतेबाट प्रदर्शनमा आएको थियो। तर, फिल्म व्यवसायीक रूपमा असफल रह्यो। फिल्म क्षेत्रमा असफलताको अनुभव गरेका उनै राई अहिले पुरानै लयमा फर्किएका हुन्।

उनी आफैले लेखन तथा निर्देशन गर्दै आइरहेको हास्य टेलिश्रृंखला ‘फुर्के नम्बर१’मार्फत पुन फर्किएका हुन्। फिल्म ‘मैझारो’ निर्माण गर्नुअघि उनी यसैमा अभिनयका साथै लेखन निर्देशन गर्दै आएका थिए।

आफ्नै नामको युट्युब च्यानल ‘तक्मे बुढा डटकम’मार्फत उक्त टेलिश्रृंखला प्रसारण गर्न थालेका हुन्। उनी आफैले अभिनय गरेको यो श्रृंखला एक समय ६ भागबाट सुचारु गरेका छन्। उनी दुई वर्षको अन्तरालमा पुन सुरु गरेका हुन्।

उकेरासँगको कुराकानीमा राईले भने, "फिल्म ‘मैझारो’निर्माण गर्ने तयारीले यो टेलिश्रृंखला दुई वर्ष ग्याप भयो। पहिला पनि फुर्के नम्बर ग्याप हुन्थ्यो तर यतिको लामो समय हुँदैन थियो। हामीसँगै अभिनय गर्ने कतिपय कलाकारहरूले अब सुचारु गरौँ भन्न थाल्नुभयो। कार्यक्रममा जाँदा पनि दर्शकले फुर्के नम्बर १ कहिले आउँछ भनेर सोधिरहन थाल्नुभयो। त्यस कारण पनि टेलिश्रृंखला सुचारु गरे। अब चाहिँ कन्टिन्यु गर्ने विचारमा छु।"

उनले थपे, "यस पटक दार्जेलिङका कलाकारहरू हुनुहुन्छ। यतै सुटिङ गरेको हो।" यस पटकको एपिसोडमा नेपाल र दार्जिलिङका कलाकारहरूले अभिनय गरेका छन्। 

कविता आले, बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, उदय सुब्बाका अलवा दार्जेलिङका अमित सुब्बा (भक्क्ते), सपन सुब्बा, सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ, सुरज, भल्गर प्रविन गुरुङ लगायतले अभिनय गर्दै आएका छन्। केही दिनअघि विल्सनले ‘शिरैमा लायौ शिर फूल’गीतको भिडियोमा अभिनय गरेका थिए। पूर्वेली भाकाको उक्त गीतमा उदित नारायण झा र सरिता राई आम्बुहाङले गाएका छन्। 

जेठ ७, २०८३ बिहीबार १५:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।