कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित, प्यानलकै बर्चस्व
काठमाडौं : नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि भएको प्रतिस्पर्धामा उत्तम केसी विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सबिन श्रेष्ठलाई ८४ मतको फराकिलो अन्तरले पराजित गर्दै केसी अध्यक्षमा चुनिएका हुन्। कूल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गर्दा श्रेष्ठले १३२ मतमा चित्त बुझाए।
अध्यक्ष मात्र नभई संघका अधिकांश पदाधिकारी र सदस्यमा केसीकै प्यानलले जित हासिल गरेको छ। उपाध्यक्ष पदमा शिवहरी नेपाल (बैरागी) १४६ मत र पूजना प्रधान १४४ मतसहित निर्वाचित भए।
महासचिव पदमा केसी प्यानलकै सुनील कटवालले १९५ मत ल्याई बाजी मारे भने सबिन टिमका रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे।
त्यस्तै, सचिव पदमा गोपाल ढकाल २१४ मतका साथ सानदार जित निकाल्न सफल भए। उनले आफ्नी प्रतिस्पर्धी पल्पसा डंगोललाई १०४ मतको अन्तरले पराजित गरे। डंगोलले ११० मत प्राप्त गरिन्।
कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी भइन्। सोही पदमा पवित्रा आचार्यले १०६ र खुश्व खड्काले ५८ मत पाए।
सह-कोषाध्यक्ष पदमा भने कडा प्रतिस्पर्धा देखिएको थियो, जहाँ पवन केसी १६१ मतका साथ विजयी हुँदा गीता नेपाल १५३ मतमा रोकिइन्। केसी प्यानलबाट लडेकी गीता मात्र ८ मतको अन्तरले पराजित भएकी हुन्।
यसैगरी सदस्य पदमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान इकु निर्वाचित भएका छन्।
निर्वाचनको समग्र प्रक्रिया शान्तिपूर्ण रहे पनि मतदानका क्रममा केही समय तनावपूर्ण स्थिति सृजना भएको थियो। कलाकार संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले मतदानस्थलमै उत्तम केसीको पक्षमा भोट मागेको भन्दै सबिन श्रेष्ठका समर्थकहरूले कडा आपत्ति जनाएका थिए।
अभिनेत्री रेखा थापालाई निरौलाले भोट हाल्न दबाब दिएको हल्ला फैलिएपछि केही बेर चर्काचर्की र हंगामा मच्चिएको थियो।
त्यस्तै, चुनावी प्रचारका क्रममा रेजिता उप्रेती र मनोज केसीबीच सामान्य धकेलाधकेल र भनाभन भएपछि माहोल केही समय गरम बनेको थियो। यद्यपि, सुरक्षाकर्मी र निर्वाचन समितिको सक्रियताले स्थितिलाई नियन्त्रणमा लिइएको थियो।
भारी मतान्तरका साथ विजयी भएका उत्तम केसीको कार्यकाल तीन वर्षको हुनेछ। फिल्म क्षेत्रको पुरानो र प्रतिष्ठित संस्था मानिने कलाकार संघको आगामी कार्यभार केसी नेतृत्वको टोलीले सम्हाल्नेछ।
जेठ ४, २०८३ सोमबार ०७:४८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।