'माया भनेकै यस्तो होला'को प्रदर्शन मिति तय

'माया भनेकै यस्तो होला'को प्रदर्शन मिति तय

काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘माया भनेकै यस्तो होला’को डबिङ कार्य सुरु भएको छ। डबिङ सुरु भएसँगै निर्माण पक्षले फिल्मको आधिकारिक प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ।

वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँगको सम्झौता अनुसार फिल्म आगामी भदौ २६ गते (तीजको अवसर) मा देशभर प्रदर्शन हुनेछ।

यस फिल्ममार्फत अभिनेत्री थापाले आठ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन्। उनले पहिलोपटक आफ्नो निजी ब्यानर ‘रेखा फिल्मस्’ बाहिर ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्देशनको जिम्मेवारी सम्हालेकी हुन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल लगायतका कलाकारको अभिनय रहेको छ। यसमा चारजना पूर्व मिस नेपालहरू-सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र उषा खड्गीलाई फरक-फरक भूमिकामा देख्न पाइनेछ।

गत चैत्र २८ गते २८ दिनको छायांकन तालिकामा निर्माण सम्पन्न भएको फिल्म हाल पोस्ट-प्रोडक्सन (छायांकन पछिको प्राविधिक कार्य) को चरणमा छ। १० वर्षपछि लेखनमा फर्किएका ध्रुव लम्सालले यसको पटकथा तयार पारेका हुन्। सामाजिक परिवेश र प्रेमकथामा आधारित भनिएको फिल्मको छायांकन सुदीप बरालले गरेका हुन्।
 

जेठ १, २०८३ शुक्रबार १४:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।