बहिष्कारको चेपुवामा मालती मङ्गले : रामकृष्णले सुनाए आफ्नै गीत, वर्षा र विजय भावुक
काठमाडौं : गायक रामकृष्ण ढकालको फिल्म ‘मालती मङ्गले’ यति बेला बहिष्कारसँग जुधिरहेको छ। नेपाली सुगम सङ्गीतमा चार दशक दिएका ढकालका लागि निर्माताका रूपमा डेब्यु फिल्म ‘मालती मङ्गले’ उनको व्यक्तित्व र उद्योगभित्रको सम्बन्ध नाप्ने कसी बनेको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मको व्यापारिक ग्राफ सुस्त रहँदा ढकालले सङ्गीतमा कमाएको ख्यातिले मात्र हलमा दर्शक तान्न सकेको देखिएन। विडम्बना त के छ भने, हजारौं सहकर्मी र प्रशंसक कमाएका उनलाई फिल्मको कठिन अवस्थामा कलाकार र सङ्गीतकर्मीहरूको साथ समेत शून्यप्रायः देखिएको छ।
प्रचारको मोर्चामा एक्लो परेका ढकाललाई अहिलेको परिस्थितिलाई सायद आफ्नै चर्चित गीतका हरफहरू ‘ममा पनि जलन छ, तिमीमा पनि जलन छ, यहाँ अरूको उचाइमा ईर्ष्या गर्ने चलन छ’ सम्झना भइरहेको हुनुपर्छ। यद्यपि प्रचारप्रसारमा कलाकार, गायक वा सङ्गीतकर्मी कसैले पनि उल्लेख्य साथ नपाउनुमा उनको पछिल्लो विवादित अन्तर्वार्तालाई कारणका रूपमा हेरिएको छ।
कलाकारहरूसहित हल भिजिटमा निस्किएका ढकालले आफ्नै गीत गाउँदै साथीभाइले आफ्नो प्रगतिमा ईर्ष्या गरेको भाव व्यक्त गरे। उनी भन्छन्, "लामो समयदेखि गीत संगीत र चलचित्र क्षेत्रमा काम गरिरहेको छु। मेरा धेरै त्यस्ता खाल्का गीतहरू छन्। जसले यो कुरालाई समेट्न सक्छ। एडजस्ट गर्न सक्छ। ममा पनि जलन छ। तिमीमा पनि जलन छ। यहाँ अरूको उचाइमा ईर्ष्या गर्ने चलन छ।"
उनले ठुलो माछाले सानो माछा निले झैँ पुराना फिल्मकर्मीले आफूलाई दबाउन खोजेको गुनासो समेत गरे। ढकालले भने, "समुन्द्रमा ठुलो माछाले सानो माछालाई खान्छ भने जस्तै अब यो क्षेत्रमा हामी नयाँ छौँ। पुरानो खेलाडीहरूले गुडविलको कारणले,पुरानो चिजलाई सपोर्ट गर्नु स्वाभाविक कुरा हो। त्यो कुरामा अलिअलि फिल भएको छ। प्रोड्यसरका हिसाबले म नयाँ छु। हाम्रो डाइरेक्टर नयाँ हुनुहुन्छ। हाम्रो सबै टिम नयाँ छ।"
ढकाल मात्र होइन, फिल्मका अभिनेता विजय बराल पनि साथीभाइबाट सपोर्ट नपाउँदा खिन्न छन्। आफूहरू एउटा बाटो र साथीहरू अर्कै बाटो हिँडेको अनुभव गरेको उनी सुनाउँछन्। गुनासो पोख्दै सञ्चारकर्मीसँग उनले भने, "साथीभाइलाई सपोर्ट गर भन्ने हो। तर गरिराख भन्ने बानी छैन। एक चोटि त भन्ने हो तर दोहोर्याएर पटक पटक के भन्ने हो फेरि। तैँले पैसा कमाइ राखेको छन्। तेरो काम हो भन्लान् मन मनमा,दुख लाग्दा। एकचोटी चाही भन्छु म।"
विजयका निकट मानिने नाट्यकर्मीहरूले समेत फिल्मलाई साथ दिएको देखिँदैन। यता अभिनेत्री वर्षा राउतको पीडा पनि उस्तै छ। फिल्म प्रचारमा साथीभाइको साथ नपाउँदा उनी भक्कानिएकी छन्। ट्रेलर र गीत सार्वजनिक हुँदादेखि नै सहयोगको अपेक्षा गरेकी वर्षाले मंगलबार साँझ फेसबुक स्टोरीमा एउटा भिडियो पोस्ट गरेर आफ्नो भावना व्यक्त गरिन्।
"मैले अघि एउटा भिडियो हेरेको थिएँ वर्षालाई साथ दिने कोही भएनन्, एकलै रहिछन् भनेर," उनले भनेकी छन्, "खासमा म आफैँले फिल गरेको कुरा हो । हरेक फिल्म आउँदा मैले सबैलाई कस्तो सपोर्ट गरेको जस्तो लाग्थ्यो मलाई चाहिँ।"
आँखाका डिलबाट आँसु खसाल्दै उनले आफूले अरूलाई सधैँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिए पनि आफूले कसैको साथ नपाएको बह पोखिन्। अभिनेत्री राउत थप्छिन्, "डाइरेक्टली, इन्डाइरेक्टी सपोर्ट गर्थेँ। तर, मेरो पालामा चैँ कसैले नगरिदिँदो रहेछ। ठिकै छ। माया गर्ने सबैलाई धन्यवाद।"
समीक्षात्मक रूपमा राम्रो मानिएको फिल्ममा वर्षाको अभिनय सशक्त छ। तर, निर्माता रामकृष्ण ढकालको एउटा अभिव्यक्तिका कारण फिल्मले बहिष्कारको सामना गर्नुपरिरहेको छ।
ढकालले एक अन्तर्वार्तामा सहकारीको बचत हिनामिना प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनको क्रममा जेलबाट आफ्नो गाडीमा हालेर घर पुर्याएको प्रसङ्ग उल्लेख गरेका थिए। सोही अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा फिल्म बहिष्कारको अभियान चल्यो, जसको प्रत्यक्ष असर अहिले हलमा परेको देखिन्छ।
असोज २५ गतेबाटै प्रदर्शनमा आएको अर्को फिल्म लालीबजारको अवस्था पनि उस्तै छ। खरानी ग्याङको टिमले निर्माण गरेको भनेर उक्त फिल्मविरुद्ध पनि बहिष्कारको अभियान चलेको थियो। साथै, वादी समुदायको मानमर्दन गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा फिल्म प्रदर्शन रोक्न माग समेत गरिएको छ। यम थापा निर्देशित यस फिल्ममा स्वस्तिमा खड्का, विशाल सापकोटा, मुकुन्द श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ लगायतको अभिनय छ।
वैशाख ३०, २०८३ बुधबार १८:४८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।