पर्दामा फेरि सौगात र दयाको जादु, ‘लुट’ को क्रेज ‘मितज्यू’ ले दोहोर्याउला?
काठमाडौं : डेढ दशकअघि एकै खालका फिल्म बनिरहेका बेला निर्देशक निश्चल बस्नेतले ‘लुट’ मार्फत एउटा नयाँ धारको सुरुवात गरे। नाट्यशैलीको फिल्म ‘लुट’ ले नेपाली रंगमञ्चमा संघर्षरत कलाकार सौगात मल्ल र दयाहाङ राईलाई एकाएक ठूलो पर्दाको ‘सुपरस्टार’ बनाइदियो।
हाकु काले र गोफ्लेको रूपमा उनीहरूको केमेस्ट्रीले दर्शकलाई यसरी तान्यो कि पछिल्लो १३ वर्षदेखि यो जोडीले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरिरहेको छ।
टेलिफिल्म तथा फिल्ममा फ्याट्टफुट्ट भुमिकामा देखिएका यी दुई कलाकारलाई त्यसपछि भने फिल्मि दुनियाँमा भ्याइनभ्याइ छ। मण्डला नाटकघरका स्टेजमा देखिने यी कलाकार अहिले हरेक महिनाजसो फिल्मका ठूला पर्दामा देखिन्छन्।
अहिले यिनै दुई प्रभावशाली कलाकार राखेर जनक घर्ती मगरले ‘मितज्यू’ निर्माण गरेका छन्। निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको यो चलचित्रले दशक अघिको त्यो ‘लुट’ वाला क्रेजलाई पुनः ब्युँताउने अपेक्षा गरिएको छ।
आधुनिकतासँगै हराउँदै गएको ‘मित लगाउने’ मौलिक नेपाली परम्परालाई यो चलचित्रले मुख्य विषयवस्तु बनाएको छ। दुई व्यक्तिबीच आजीवन मित्रताको गाँठो कस्ने यो परम्परा अहिले निकै कम पाइन्छ। सोही कथा जनकघर्ती मगरले आफ्नो फिल्ममा देखाउँदैछन्।
फिल्मको ट्रेलरमा ग्रामीण भेगमा भर्खरै बनाएको नयाँ बाटोमा गाडी कुदाउने तीव्र प्रतिस्पर्धामा सौगात मल्ल र दयाहाङ राईका पात्रहरूबीचको टकराव देखाइएको छ। सो टकराव साम्य पार्न उनीहरूबीच सांस्कृतिक परम्परा अनुसार मित लगाइन्छ।
सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा दयाहाङ राईले यो फिल्ममा आफ्नो अभिनय पस्किने मौका पाएको बताएका थिए।
यदि दयाहाङको यो आत्मविश्वास सही सावित भएमा, ‘मितज्यू’ सौगात र दयाको करियरकै अर्को कोसेढुङ्गा बन्न सक्छ।
यस फिल्ममा दयाहाङ राई,सौगात मल्लका साथमा तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राई लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यही फिल्मबाट चर्चित डान्सर तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छिन्। उनी चर्चित डान्सरका रुपमा परिचित रहदै आएकी छन्।
अनिल बुढा मगरको निर्देशन,जनक घर्ती मगरको लगानीमा निर्माण भएको यस फिल्ममा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ।
निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको अघिल्लो सहकार्य ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल भएको थियो। यस फिल्मले पनि राम्रो व्यापार गर्नेमा निर्माण पक्ष ढुक्क देखिन्छन्।
आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मितज्यू’ ले ‘लुट’ को कीर्तिमानलाई उछिन्न सक्छ कि सक्दैन? त्यो हेर्न भने दर्शकले केही समय कुर्नैपर्नेछ। सौगात र दयाको जुहारी हेर्न आतुर दर्शकका लागि यो निकै प्रतिक्षित हो।
वैशाख ३०, २०८३ बुधबार १६:४१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।