बलिउड स्टार कैलाश खेरको स्वरमा ‘आई एम जितबहादुर’को गीत

बलिउड स्टार कैलाश खेरको स्वरमा ‘आई एम जितबहादुर’को गीत

काठमाडौं : हास्य कलाकारको छविबाट बाहिर निस्किएर अभिनेता जितु नेपाल यतिबेला आफ्नो महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘आई एम जितबहादुर’ मार्फत दर्शकलाई सर्प्राइज दिने तयारीमा छन्।

असार ५ गतेलाई प्रदर्शन मिति तोकिएको यो चलचित्रको शीर्ष गीत सार्वजनिक भएसँगै फिल्म नगरीमा यसको नयाँ चर्चा सुरु भएको छ।

फिल्मको शीर्ष गीतमा ठूला बजेटका भारतीय सिनेमामा जादुमयी स्वर दिने बलिउडका प्रसिद्ध गायक कैलाश खेरको स्वर छ।

तर, जितुले आफ्नो फिल्ममा बलिउडको फ्लेवर मिसाएर ‘जितबहादुर’लाई अन्तर्राष्ट्रियस्तरको बनाउन कुनै कसर बाँकी नराखेको प्रस्ट देखिन्छ।

पर्दामा जितु नेपालको जोडीका रूपमा सुन्दरी अभिनेत्री वर्षा राउत देखिँदैछिन्। मुन्द्रे र वर्षाको यो अनपेक्षित जोडीले पर्दामा कस्तो केमेस्ट्री जमाउला भन्ने चासो गसिप बजारमा निकै छ।

गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने युवकको कथा भनिए पनि फिल्ममा जितु र वर्षाको प्रेमिल पाटोको विषय फिल्ममा समेटिएको छ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको यो चलचित्रको छायाङ्कनदेखि पोस्ट-प्रोडक्सनका सबै काम भारतमै गरिएको छ।

भारतीय सिनेम्याटोग्राफर अरविन्दको क्यामराले जितुलाई कस्तो गेटअपमा कैद गरेको छ, त्यो टिजरबाटै केही हदसम्म झल्किइसकेको छ।

फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र पवन खतिवडा जस्ता ‘भाइरल’ र ‘हिट’ कलाकारहरूको जम्बो टोली छ।

वैशाख ३०, २०८३ बुधबार १०:५४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।