‘मन विनाको धन २’ मा पूजा र महेशको इन्ट्री, निरुताको ‘ग्रिन सिग्नल’को प्रतिक्षामा टंक

‘मन विनाको धन २’ मा पूजा र महेशको इन्ट्री, निरुताको ‘ग्रिन सिग्नल’को प्रतिक्षामा टंक

काठमाडौं : संगीतकार तथा निर्देशक टंक बुढाथोकी फेरि एकपटक बक्स अफिस तताउने तयारीमा लागेका छन्।

आफ्नो सफल डेब्यु निर्देशकिय फिल्म ‘मन बिनाको धन’को सिक्वेलमा ‘हेभी वेट’ कलाकारहरूलाई भित्र्याएर सबैलाई अचम्ममा पारिदिएका छन्।

फिल्मको दोस्रो भागका लागि महेश त्रिपाठी र अभिनेत्री पूजा शर्माको इन्ट्री कन्फर्म भएको छ।

निर्देशक बुढाथोकीका अनुसार उनीहरूसँगको सम्झौता पक्का भइसकेको छ। सामाजिक प्रेमकथामा आधारित यो फिल्ममा पूजा र महेशको जोडीले कस्तो कमाल देखाउने हो, त्यो भने हेर्न बाँकी छ।

सिक्वेलको अर्को ठूलो सरप्राइज निरुता सिंह हुन सक्नेछिन्। निरुता यतिबेला सुदूरपश्चिममा फिल्म ‘सारथि’को सुटिङमा व्यस्त छिन्।

निर्देशक टंक भन्छन्, ‘निरुता दिदीसँग कुराकानी चलिरहेको छ। उहाँ सुटिङका लागि बाहिर हुनुभएकोले थप छलफल हुन पाएको छैन, तर लगभग कुरा मिलिसकेको छ।’ यदि निरुताले ‘ग्रिन सिग्नल’ दिएमा फिल्मको ओजन अझ बढ्ने निश्चित छ।

फिल्मको कथा अघिल्लो भागकै निरन्तरता हुने भएकाले चर्चित बालगायक अशोक दर्जी यो भागमा पनि छुट्ने छैनन्। उनीसँगै वरिष्ठ अभिनेता सरोज खनाल र आरएन बुढाथोकी पनि फाइनल भइसकेका छन्।

गसिपको अर्को पाटो, के नीता ढुंगाना यो भागमा देखिनेछिन् त? यस विषयमा टंकले ‘असम्भव भन्ने छैन’ भन्दै ढोका खुल्ला राखेका छन्, जसले नीताका फ्यानहरूमाझ खुल्दुली जगाएको छ।

अघिल्लो भाग ‘मन विनाको धन’ले चलचित्र विकास बोर्डको बक्स अफिसमा ४ करोडको ‘ग्रस कलेक्सन’ गरेको थियो।

टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहने यस फिल्मको पटकथा र संवाद चर्चित लेखक शिवम् अधिकारीले लेखिरहेका छन्। फिल्मको कथा र संगीतको जिम्मा भने निर्देशक टंक स्वयंले सम्हालेका छन्।

विष्णु माया मैनालीले लगानी गर्ने यो फिल्मको सुटिङ आगामी भदौबाट सुरु हुने कार्यतालिका छ।

वैशाख २९, २०८३ मंगलबार १२:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।