‘अनस्क्रिन रोमान्स’बारे राजेशले पोखे मनको रहर, करिश्माले मुन्टो हल्लाइन्
काठमाडौं : नेपाली रजतपटको एउटा यस्तो समय थियो, जहाँ राजेश हमाल र करिश्मा मानन्धरको नाम मात्रै काफी थियो। पर्दामा यो जोडी देखिनुको अर्थ हुन्थ्यो- फिल्म सुपरहिट!
दर्शक त यतिसम्म मोहित थिए कि, धेरैले यो जोडी साँच्चिकैको श्रीमान्-श्रीमती भइदिए हुन्थ्यो भन्ने कामना समेत गर्थे। 'बसन्ती', 'ढुकढुकी', 'प्रतीक्षा', 'साथी' देखि 'मिस्टर रामकृष्णे' सम्म आइपुग्दा यो जोडीले नेपाली सिनेमालाई स्वर्णिम युगको स्वाद चखायो।
तर, समय सधैँ एकनास रहेन। पछिल्लो समय यी दुवै स्टारका लागि फिल्मी पर्दा खासै सुखद देखिएको छैन।
राजेश हमालको पछिल्लो फिल्म ‘प्रवासी जीवन’ले बक्स अफिसमा फ्लप सावित भयो भने करिश्माको ‘परिवर्तन’ पनि खासै चर्चामा आएन। ठुलो पर्दामा चमक हराउँदै जाँदा यो जोडी अचेल म्युजिक भिडियोमा भने निकै झुल्किन थालेको छ।
यसै क्रममा शनिबार अनामनगरको किम्ची रेस्टुरेन्टमा एउटा रोचक दृश्य देखियो। वरिष्ठ लोकगायक बमबहादुर कार्कीको चर्चित गीत ‘म हूँ पानी सबको जिन्दगानी’को भिडियो सार्वजनिक कार्यक्रममा यी दुई एकसाथ झुल्किए।
कार्यक्रममा राजेश हमाल अलि चाँडै आइपुगेका थिए भने करिश्मा केही ढिलो। हलभित्र पुगेपछि पनि दुईबीच खासै बोलचाल भएन, जसले त्यहाँ उपस्थितलाई केहीबेर चिसो महसुस गरायो।
तर, जब पत्रकारले उनीहरूको फिल्मी पुनरागमनबारे प्रश्न तेर्स्याए, हमालले मौनता तोडे।
गम्भीर मुद्रामा हमालले भने, ‘सम्भावना जहिल्यै पनि रहिरहन्छ नि। उहाँ (करिश्मा) यहीँ हुनुहुन्छ, म यहीँ छु। विषयवस्तु राम्रो बन्यो भने सहकार्य नहुने कुरै छैन। हामी कलाकार हौँ, राम्रो स्क्रिप्ट आए फेरि पर्दामा देखिन सक्छौँ।’ हमालको कुरामा करिश्माले पनि मुन्टो हल्लाउँदै सहमति जनाइन्।
निर्देशक देवेन्द्र पाण्डे, जसले हमालसँग मात्रै १३ वटा भिडियोमा काम गरिसकेका छन्, उनले नै यो जोडीलाई पछिल्लो भिडियोमा पनि नचाएका हुन्। अब प्रश्न उठ्छ- के यी दुईलाई लिएर फिल्म बनाउन कुनै निर्माता तयार होलान्?
हमाल आफैँले पनि फिल्म निर्देशन गर्ने चर्चा चलेको धेरै भयो, तर त्यो चर्चा अझै सेलाएको छैन।
वैशाख २७, २०८३ आइतबार १२:१५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।