फिल्म लालीबजारको विरोधमा सडक प्रदर्शनमा उत्रिए सरोकार समूह, हल पनि रित्तै

फिल्म लालीबजारको विरोधमा सडक प्रदर्शनमा उत्रिए सरोकार समूह, हल पनि रित्तै

काठमाडौं : सेन्सर बोर्डले पास गरेको आधार देखाउँदै उच्च अदालत पाटनले फिल्म 'लालीबजार' को प्रदर्शनमाथि लागेको बन्देज फुकुवा गरेसँगै शुक्रवारबाट फिल्म प्रदर्शनमा आए पनि सरोकारवाला समुदायका सदस्यले भने माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै फिल्म प्रदर्शन रोक्न माग गरे। प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

विरोध प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि न्याय नपाएको गुनासो गरिन्। उनले अदालतले फिल्म चलाउने अनुमति दिइसकेपछि न्याय पैसामा बिक्दो रहेछ भन्ने अनुभूति भएको टिप्पणी गर्दै सदनमा बसेर माफी माग्ने सरकार आए पनि न्याय पाउन  नसकेको बताइन्।

उनले आफूहरूको मुद्दा लालीबजार बन्द गर्नुपर्ने रहेको र फिल्मको कुनै दृश्य वा संवाद काँटछाँट गर्ने विषय नभएको बताइन्। उनीहरूले फिल्म निर्माण टिमले वादी समुदायमा बसेर बनाएको कथा भनेर प्रचार गरेको भन्दै आपत्ति जनाएका थिए।

फिल्म शुक्रवारबाट प्रदर्शनमा आए पनि दर्शकहरूले भने स्वीकार गरेको देखिएन। फिल्मका अधिकांश सोहरू रित्ता देखिएका छन्। फिल्मबारे एकातिर सम्बन्धित समुदाय नै विरोधमा उत्रिएकाले त्यसको प्रभाव त परेको छ नै यसकी अभिनेत्री स्वस्तिमा खड्काको श्रीमान् निश्चलबारे खरानी ग्याङको लिडर भन्दै भदौ २४ गतेको ध्वंससँग जोडेर भएको प्रचारको प्रभाव समेत फिल्ममा परेको छ।

वैशाख २६, २०८३ शनिबार १६:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।