'कल्कि २' मा सुप्रिम यास्किनको दबदबा; कमल हासनको भूमिकाले ल्याउनेछ पौराणिक कथाको नयाँ ट्वीस्ट

'कल्कि २' मा सुप्रिम यास्किनको दबदबा; कमल हासनको भूमिकाले ल्याउनेछ पौराणिक कथाको नयाँ ट्वीस्ट

एजेन्सी : प्रभास स्टारर ब्लकबस्टर फिल्म ‘कल्कि २८९८ एडी’को सफलतापछि निर्देशक नाग अश्विन यसको दोस्रो भाग (कल्कि २) को तयारीमा जुटेका छन्।

सन् २०२७ को डिसेम्बरमा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको छायांकनको ठूलो हिस्सा आगामी वर्षको अप्रिलसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

साइन्स-फिक्सन फिल्मको कथा पहिलो भाग जहाँ टुङ्गिएको थियो, त्यहीँबाट अघि बढ्नेछ। यस पटक भविष्यको संसार र पौराणिक संघर्षलाई अझ वृहत् र भव्य स्तरमा प्रस्तुत गरिने तयारी छ। फिल्मको छायांकनका लागि प्रभास, अमिताभ बच्चन, कमल हासन र साई पल्लवी जस्ता कलाकारहरूले आगामी अप्रिलसम्मको समय दिएका छन्।

फिल्ममा उच्च प्रविधिको भीएफएक्स र विशाल ‘वर्ल्ड बिल्डिङ’ (काल्पनिक संसारको निर्माण) को काम हुने भएकाले निर्माण पक्षले पोस्ट-प्रोडक्सनका लागि लामो समय छुट्याएको छ। ‘कल्कि २’को निर्माण क्यानभास पहिलो भागको तुलनामा निकै विशाल हुने भनिएको छ। प्रभासका कैयौं शक्तिशाली एक्सन दृश्यहरू रहनेछन्, जसको पूर्व-तयारी अहिलेदेखि नै सुरु भइसकेको छ।

कमल हासनको भूमिका थप प्रभावशाली 

फ्रेन्चाइजीको मुख्य आकर्षण मानिएको कमल हासनको चरित्र ‘सुप्रीम यास्किन’ दोस्रो भागमा अझ महत्त्वपूर्ण र शक्तिशाली रूपमा देखिनेछ। पहिलो भागमा उनको छोटो झलकले नै दर्शकमाझ ठूलो कौतुहलता जगाएको थियो, जसलाई दोस्रो भागमा विस्तृत रूपमा प्रस्तुत गरिनेछ।

नाग अश्विनको लेखन र निर्देशनमा तयार भइरहेको फिल्मलाई वैजयन्ती मुभिजले निर्माण गरिरहेको छ। पहिलो भागले बक्स अफिसमा विश्वव्यापी प्रभाव पारेका कारण ‘कल्कि २’ लाई सन् २०२७ को सबैभन्दा चर्चित र बहुप्रतीक्षित भारतीय फिल्मको रूपमा हेरिएको छ।

वैशाख २६, २०८३ शनिबार १५:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।