नयाँ वर्षको पहिलो महिनामै निर्माताको गोजी रित्तो, भदौमा ११ फिल्मको ‘बाढी’
काठमाडौं : नेपाली फिल्म क्षेत्रका लागि २०८३ सालको सुरुवात निकै कठिन देखिएको छ। वर्षको पहिलो महिना वैशाखमै निर्माताहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने यसले नेपाली फिल्म उद्योग अहिले सकसमा परेको छ।
फिल्म हलहरू रित्तो हुनु र दर्शकले फिल्ममा रुचि नदेखाउनुले निर्माताहरू चिन्तित छन्। यसैबीच, असार र साउनमा के हुन्छ भन्ने टुंगो नभए पनि भदौ महिनालाई फिल्मकर्मीहरूले ‘महा-भिडन्त’को मैदान बनाएका छन्।
अहिलेसम्मको जानकारी अनुसार भदौ महिनामा मात्रै कम्तीमा ११ वटा नेपाली फिल्म प्रदर्शनमा आउने पक्का भएको छ। यो संख्या अझै बढ्ने सम्भावना पनि उत्तिकै छ।
वैशाखमा किन भयो फिल्मको ‘हरिबिजोग’?
नयाँ वर्षको सुरुवातमा प्रदर्शन भएका फिल्म ‘राम नाम सत्य’, ‘पहाड’ र ‘परालको आगो’ ले दर्शकको मन जित्न सकेनन्। व्यावसायिक रूपमा यी फिल्म नराम्रोसँग असफल भए।
यीमध्ये ‘परालको आगो’ ले केही हदसम्म आफ्नो लगानी उठाउने प्रयास त गर्यो, तर बाँकी दुई फिल्मले ३ करोड रुपैयाँको लगानी उठाउन निकै ठूलो संघर्ष गर्नुपर्यो।
वैशाख २५ गतेबाट हलमा लागेका ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरुआमा’ को अवस्था त झन् भयावह छ। ‘खल्ती’ डिजिटल एपको बुकिङ र हलहरूको अवस्था हेर्दा धेरैजसो हलहरू खाली देखिन्छन्। दर्शकको अभावमा फिल्म हलहरू सुनसान छन्।
निर्माण टिमले शनिबार र आइतबारको बिदामा दर्शक आउलान् कि भन्ने आशा राखेका छन्, तर यदि दर्शक हलसम्म आएनन् भने यो महिना फिल्म क्षेत्रका लागि सबैभन्दा ठूलो घाटाको महिना बन्ने पक्का छ।
जेठमा ‘काजी’ र ‘मितज्यू’को प्रतिस्पर्धा
जेठ १ गतेबाट ‘एक मुठी बादल’ प्रदर्शन हुँदैछ, तर यसको प्रचारप्रसार र टिकटकलगायत सामाजिक सञ्जालमा देखिएको क्रेज हेर्दा दर्शकमा खासै उत्साह देखिँदैन।
यस्तै, जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेका फिल्म ‘काजी’ र ‘मितज्यू’ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। ‘काजी’मा अहिलेका चर्चित अभिनेता विपिन कार्की छन् भने ‘मितज्यू’ मा सौगात मल्ल र दयाहाङ राई छन्।
यी तीनै जना कलाकार एक समय एउटै फिल्ममा सँगै देखिन्थे, तर यसपटक उनीहरू नै आ-आफ्नो फिल्ममार्फत दर्शक तानातानमा उत्रिएका छन्। दर्शकले कुन अभिनेतालाई बढी रुचाउने हुन्, त्यो जेठको दोस्रो सातामा प्रस्ट हुनेछ।
भदौमा ‘महा-भिडन्त’
असार र साउनमा कामको चटारो हुने भएकोले होला, धेरै फिल्मकर्मीले आफ्नो फिल्म भदौमा नै प्रदर्शन गर्ने निधो गरेका छन्।
भदौमा अहिलेसम्मको विवरण हेर्दा ११ वटा फिल्म रिलिज हुन लागेका छन्। भदौ १२ गते नै हलमा ५ फिल्म प्रदर्शनमा आउँदैछन्।
संगीतकार अर्जुन पोखरेलले निर्माण गरेको ‘बेहुली’ फिल्म भदौ १२ गते प्रदर्शनमा आउँदैछ। फिल्मलाई सशान कँडेलले निर्देशन गरेका हुन्। यसमा दिव्या रायमाझी, पारस बम ठकुरी, पदम तामाङ र सुशान्त कार्कीले अभिनय गरेका छन्।
‘मास्टर्नी’ फिल्म पनि भदौ १२ गते नै प्रदर्शनमा आउँदैछ। यो प्रियंका कार्कीको लगानीमा बनेको फिल्म हो। यसमा उनी स्वयम्ले अभिनय पनि गरेकी छिन्। क्राइम थ्रिलर जनराको यो फिल्मलाई सुभेन्दु घोषले निर्देशन गरेका हुन्। यसमा सरोज खनाल, आर्यन सिग्देल, अनुपविक्रम शाही लगायतको अभिनय छ।
सोही दिन प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म हो- ‘पार्वती’। नीता ढुङ्गाना आफैँले निर्माण र निर्देशन गरेको फिल्म हो। यसमा दीपाश्री निरौला र बाल कलाकार अशोक दर्जी समेत देखिँदैछन्।
अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘जदौ’ पनि भदौ १२ गते नै रिलिज हुँदैछ। अन्जन शर्मा र काजी लिम्बूले निर्देशन गरेको यो फिल्ममा मुकुन भुसाल, रीचा शर्मा र नीति शाह मुख्य भूमिकामा छन्।
त्यसैगरी सोही दिन रिलिज हुन लागेको अर्को फिल्म ‘द ग्रेट’लाई मनोज पण्डितले निर्देशन गरेका छन्। फिल्ममा शोभिता सिम्खडाको मुख्य अभिनय छ।
अब भदौ १९ गते प्रदर्शनमा आउन लागेका तीन फिल्मको कुरा गरौँ।
यो दिन अनिनेत्री तृप्ती नाड्करको कमब्याक गर्न लागेको फिल्म ‘क का कि की’ प्रदर्शनमा आउँदैछ। फिल्मम तृप्तीसँगै रेखा थापा, गौरी मल्ल र महेश त्रिपाठीको पनि मुख्य भूमिका छ।
अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको र उनकै अभिनय भएको अर्को फिल्म ‘स्टेशन’ पनि भदौ १९ गते नै प्रदर्शनमा आउँदैछ। यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्दैछन्।
त्यसैगरी सोही दिन अर्को सिनेमा ‘बा : एक योद्धा’ पनि रिलिज हुँदैछ। सुहाना थापाको अभिनय रहेको यो फिल्मलाई हरि लम्सालले निर्देशन गरेका हुन्। यसमा झरना थापा पनि देखिँदैछिन्।
यति मात्र होइन भदौको अन्तिम साता यानिकी २६ गते अर्को तीन फिल्म प्रदर्शनको तयारीमा छन्।
रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेको यस्तै होला’ यही दिन रिलिन हुँदैछ। यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसहित पूर्व मिस नेपालहरूको भीड छ।
माओत्से गुरुङको निर्माण तथा निर्देशनमा रहेको फिल्म ‘पेन्सन पट्टा’ले भदौ २६ गतेलाई नै आफ्नो प्रदर्शन ’लक्ड’ गरेको छ। यो फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतको अभिनय छ।
महेश त्रिपाठी र वर्षा सिवाकोटी अभिनित फिल्म ‘टिका : स्टेटलेस सोल’ले पनि सोही मितिमा रिलिज गर्ने तयारी छ। यो फिल्मलाई शंकर कार्कीले निर्देशन गर्दैछन्।
दर्शकको गोजी र निर्माताको जोखिम
भदौमा एकैसाथ ११ वटा फिल्म आउँदा निर्माताहरूबीच ठूलो प्रतिस्पर्धा हुने देखिन्छ।
यदि कुनै एक जना दर्शकले भदौमा रिलिज भएका सबै फिल्म हेर्ने हो भने, टिकट, पार्किङ र खाजा खर्च जोड्दा मात्रै करिब ७ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। यो खर्च सामान्य मध्यमवर्गीय नेपाली दर्शकका लागि निकै ठूलो रकम हो। यसले गर्दा धेरै दर्शकले सबै फिल्म हेर्न नसक्ने अवस्था छ।
एकातिर निर्माताहरू आफ्नो फिल्म सफल हुने दाबी गरिरहेका छन्, अर्कोतिर बजारमा धेरै फिल्म एकै पटक आउँदा कुन फिल्मले दर्शक पाउँछ र कुन फिल्म रित्तो हलमा प्रदर्शन हुन्छ भन्ने डर पनि उत्तिकै छ।
फिल्म राम्रो बनाउनु मात्र ठूलो कुरा होइन, त्यसलाई सही समयमा प्रदर्शन गर्ने योजना पनि उत्तिकै आवश्यक हुन्छ। आफ्नो फिल्म रिलिज गर्दा दर्शकको रुचि र उनीहरूको खर्च गर्ने क्षमतालाई पनि ध्यान दिनुपर्ने हो, तर यहाँ निर्माताहरू ‘इगो’ का कारण एकै मितिमा फिल्म जुधाइरहेका छन्।
एउटै समयमा धेरै फिल्म रिलिज हुनुले दर्शकको रोजाइ त बढ्ला, तर निर्माताहरूले भने आफ्नो लगानी सुरक्षित गर्न निकै ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। भदौको यो भिडमा कुन-कुन फिल्मले निर्माताको गोजी भर्छन् र कुन-कुन फिल्म रिलिज भएको केही दिनमै हलबाट हट्छन्, त्यो हेर्न बाँकी नै छ।
वैशाख २६, २०८३ शनिबार ११:२२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।