फिल्म ‘रोल नं १’ को लोक लयको गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक

फिल्म ‘रोल नं १’ को लोक लयको गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक

काठमाडौं : बाल मनोविज्ञान र शैक्षिक प्रणालीको कथा समेटिएको फिल्म ‘रोल नं १’को लोक लयमा आधारित गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरेको हो।

प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र प्रशान्तकै संगीत रहेको छ। सवाल-जवाफ शैलीमा तयार पारिएको गीतमा एउटा युवकले आफूले मन पराएको युवतीलाई गर्ने प्रेम प्रस्ताव र त्यसमा युवतीले दिने परिपक्व जवाफलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा अभिनेता विनोद न्यौपाने र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। म्याग्दीका रमणीय स्थलहरूमा छायांकन गरिएको यस भिडियोको निर्देशन जोन योञ्जनले गरेका हुन् भने कोरियोग्राफी मौसम हिमालीको रहेको छ।

जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले वर्तमान शैक्षिक प्रणालीले बालबालिकाको मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उनीहरूको भविष्यमा पार्ने असरको कथा भन्ने निर्माता विनोद पौडेलले जानकारी दिए।

महेश दवाडीको लेखन र शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र बाल कलाकारहरूको मुख्य भूमिका छ। नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दै छन्।

वैशाख २५, २०८३ शुक्रबार २१:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।