सेन्सरको अन्योल चिर्दै ‘मालती मंगले’ले पायो युनिभर्सल प्रमाणपत्र, शुक्रबारदेखि प्रदर्शन हुने

सेन्सरको अन्योल चिर्दै ‘मालती मंगले’ले पायो युनिभर्सल प्रमाणपत्र, शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं : वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको बिजय बराल र वर्षा राउत अभिनित फिल्म ‘मालती मंगले’को सेन्सर पास भएको छ। 

नेपाल सरकारले गत शनिवार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त भएपछि फिल्मको जाँचपास अन्योलमा परेको थियो।

तर, चलचित्र विकास बोर्ड र विभिन्न मन्त्रालयका पदेन प्रतिनिधिहरूको सक्रियतामा फिल्मले प्रदर्शनको अनुमति पाएको हो।

सेन्सर बोर्डका सदस्यहरूको पदमुक्त भएको अवस्थामा चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो। यसका लागि चलचित्र विकास बोर्डकी प्रतिनिधि दीपा बस्नेत र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सेन्सर गरिएको हो।

२ घण्टा ३८ मिनेट लामो यस फिल्मलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी 'युनिभर्सल' प्रमाणपत्र दिइएको छ।

निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ सेन्सर बोर्ड पुगेर फिल्मको प्रमाणपत्र बुझेका छन्। 

फिल्मको कथा निर्देशक प्रकु पाण्डेय स्वयम्‌ले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्ममा मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुनिल तामाङ र सुष्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा सागर ज्ञवाली कार्यकारी निर्माता हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलनबजगाई सह–निर्माताका रूपमा रहेका छन्।

मालती मंगलेमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनिमिश्रण रहेको छ। 

फिल्मका गीतहरू ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र आकर्षक डान्सिङ नम्बर ‘झ्यामपारम’ ले यसअघि नै दर्शकको ध्यान तानिसकेका छन्। आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ।

वैशाख २३, २०८३ बुधबार १२:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।