‘आ बाट आमा’ को सिक्वेलमा हिरोकै भीड : पल, आकाश र सविनको इन्ट्री हुँदा हिरोइन खै?
काठमाडौं : गत वर्ष बक्स अफिसमा १३ करोड १३ लाखभन्दा बढीको व्यापार गरेको फिल्म ‘आ बाट आमा’ यतिबेला सिक्वेलको तयारीमा छ।
निर्देशक तथा निर्माता चन्द्र पन्तले सिक्वेलका लागि धमाधम ‘स्टारकास्ट’ भित्र्याइरहेका छन्। तर, अहिले सम्मको कास्टिङ लाइनअप हेर्दा लाग्छ- यो फिल्ममा हिरोकै मेला लाग्दैछ!
लाइनअपमा पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्टदेखि नरेन खड्कासम्मका चल्तापुर्जा चकलेटी र एक्सन हिरोहरूको लस्कर छ।
अघिल्लो पार्टबाट बलिउड ‘भिलेन’ प्रदीप रावत र भेट्रान अभिनेत्री विपना थापा पनि दोहोरिएका छन्। तर, फिल्मनगरीमा अहिले अचम्मको गसिप के छ भने, यति धेरै हिरोहरुको भिडमा फिल्मकी ‘लिडिङ लेडी’ अर्थात् मुख्य हिरोइन को हुन् त?
अघिल्लो पार्टका अभिनेत्रीद्वय उषा उप्रेती र सिम्रन पन्त यसपटक आउट भएका छन्। निर्माण पक्षले विपना थापाबाहेक महिला पात्रका रूपमा हालसम्म कसैलाई पनि अनुबन्ध गरेको छैन।
सरसर्ती हेर्दा फिल्ममा हिरोइनको चरम अभाव खड्किएको देखिन्छ। के निर्देशक पन्तले यी चकलेटी हिरोहरुको अपोजिटमा सुहाउँदो हिरोइन नभेटेका हुन्? या, प्रचारको रणनीति अनुसार कुनै ‘सरप्राइज प्याकेज’ दिन खोजिरहेका छन्? यो भने चासोको विषय बनेको छ।
यसैबीच, अघिल्लो सोमबार बिहान पाटनको बंगलामुखी मन्दिरमा पल शाह र आकाश श्रेष्ठलाई साक्षी राखेर निर्माण टिमले फिल्मको सुटुक्क शुभमुहूर्त समेत गरिसकेको छ। मुहूर्तसँगै फिल्ममा सविन श्रेष्ठको पनि इन्ट्री भएको छ। हालसम्मको प्रचारप्रसारमा निर्माण पक्षले पुरुष कलाकारहरूलाई नै अगाडि सारिरहेको छ।
यसै महिनाको अन्त्यबाट फ्लोरमा जाने तयारीमा रहेको यस फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने घोषणा भइसकेको छ। चन्द्र पन्तको आफ्नै कथा, पटकथा तथा निर्देशन रहने यस फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल राइट्स ओएसआर डिजिटलले लिएको छ।
आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा बन्ने फिल्मको प्राविधिक टिमलाई भने गोप्य नै राखिएको छ। यद्यपि, प्रोडक्सन म्यानेजरको जिम्मा करणसिंह रसालीले पाएका छन्।
अब दर्शक र फिल्मवृत्तको एउटै पर्खाइ छ- यत्रो ठूलो ‘मेल स्टारकास्ट’को अपोजिटमा निर्देशक पन्तले कुन सुन्दरीलाई भित्र्याउँछन्!
वैशाख २३, २०८३ बुधबार १०:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।