‘महाराजधिराज’को शुभमुहूर्तमा पूजा र पुष्प उपस्थित हुँदा देखिएनन् आर्यन, केकी र सुशील

‘महाराजधिराज’को शुभमुहूर्तमा पूजा र पुष्प उपस्थित हुँदा देखिएनन् आर्यन, केकी र सुशील

काठमाडौं : फिल्म निर्माण घोषणा भएको दुई वर्षपछि ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ। मंगलबार बिहान बंगलामुखी मन्दिरमा करिब तीन घण्टा लामो विशेष हवन पूजा गर्दै फिल्मको निर्माण कार्यलाई अगाडि बढाएको हो।

करिब ८० कलाकारको 'जम्बो टिम' रहने भनिएको यस फिल्मको शुभमुहूर्तमा अधिकांश कलाकारहरूको उपस्थिति थियो। मुख्य भूमिकामा रहेका पुष्प खड्का र पूजा शर्मा बिहान ८:३० बजे नै मन्दिर पुगेर स्क्रिप्ट पूजा र ग्रहशान्तिमा सहभागी भएका थिए। शुभमुहूर्तको पूजा बिहानको ११ बजेसम्म चलेको थियो। 

अभिनेत्री पूजा शर्माले आफूलाई बिहेको जग्गेमा भन्दा फिल्मको स्क्रिप्ट पूजामा बस्दा रमाइलो लागेको सुनाइन्।  उनले भनिन, ‘मलाई यसैले नाम दाम दिएको छ। त्यसैले पनि होला स्क्रिप्टको पूजा अर्चनामा बस्दा रमाइलो फिल भइरह्यो।’

पूजामा अभिनेता पुष्प खड्का, पूजा शर्मा, उषा रजकका साथ अन्य केही कलाकार बसेका थिए। यस्तै फिल्ममा अन्य मुख्य कलाकार रमेश उप्रेती,जयकिशन बस्नेतको समेत उपस्थिति रहेको थियो।

तर गत शुक्रबार फिल्ममा अनुबन्धित भएका अभिनेता सुशील सिटौला, केकी अधिकारी, नीर शाह, आर्यन सिग्देल, हेमन्त बुढाथोकीदेखि हिउँवाला गौतमसम्म शुभमुहूर्तमा देखिएनन्। उनीहरूलाई कार्यक्रमभर मिडियाकर्मीहरू पर्खिरहेको देखिन्थेँ। तर उपस्थिति नभएको कारणबारे भने कतै चर्चा सुनिएन। 

यसै फिल्मका लागि पुष्प खड्काले ७ केजी तौल घटाएको बताए। पुजापछि पत्रकारको तपाई सिनित्तै दुब्लाउनु भएछ, कति केजी घट्नुभयो भन्ने प्रश्नमा उनले ४५ दिनमा ७ केजी घटेको बताए। 

उनले पात्रका लागि आफ्नो तौल त घटाए, तर फिल्मको पर्दामा आफूलाई कसरी प्रस्तुत गर्छन्, त्यो भने रिलिजकै समयमा थाहा होला।  

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा पुष्प र पूजासँगै सुशील सिटौला, केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, बिशाल पहाडी, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायतका कलाकारको अभिनय रहनेछ। 

पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले राम्रै तयारी गरेको देखिन्छ।  ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् भने  नबराज थापाले छायाङ्कन गर्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको कथा, निर्देशक सेन आफैले लेखेका हुन्। 

रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माता रहेको यस फिल्मको सुटिङ सुनसरीको श्रीलङ्का टापुबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा खिचिनेछ। 

फिल्मलाई आगामी फूलपातीमा प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ। तर यो फिल्मसँगै फूलपातीबाट आधा दर्जन नेपाली फिल्म प्रदर्शनमा आउँदैछन्। 

पलले छाडेको फिल्ममा भित्रिएका पुष्प पलसँगै भिड्दैछन्। पुष्पको ‘महाराजधिराज’आउँदा, पलको ‘आ बाट आमा’प्रदर्शनमा आउँदैछ। साथै, अनमोल केसीको ‘बाटुलो जुन’, रोहित अधिकारीको ‘छ माया छपक्कै २’, बिराज भट्टको ‘१२ गाउँ २’, अशोक शर्माको ‘डवल त्रिपल’ पनि प्रदर्शनमा आउँदैछन्। 

अहिलेसम्म यो मितिबाट कुनै पनि फिल्म पछि नहट्ने मुडमा देखिएका छन्। बाटुलो जुनका निर्देशक भुवन केसीले असोज ३० बाट आफ्नो फिल्म एक दिन अघिपछि नहुने केही दिनअघि फिल्म ‘तिमी मेरो म तिम्रो’को घोषणा कार्यक्रममा भनिसकेका छन्। 

अब दर्शक बाँडिन्छन् वा सबै फिल्म हेर्छन्, त्यसका लागि भने दसैंको फूलपाती पछिसम्म कुर्नेपर्ने हुन्छ। 

वैशाख २२, २०८३ मंगलबार १५:३३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।