मौसम अपडेट : लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं : आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै आइतबार राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
वैशाख २०, २०८३ आइतबार ०६:५९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।