सुकुम्बासी बस्तीबाट हटाइएका ५० परिवार दशरथ रंगशाला पुगे, स्वास्थ्य जाँचपछि होल्डिङ सेन्टर पठाइने

सुकुम्बासी बस्तीबाट हटाइएका ५० परिवार दशरथ रंगशाला पुगे, स्वास्थ्य जाँचपछि होल्डिङ सेन्टर पठाइने

काठमाडौं : काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासी बस्तीबाट हटाइएकामध्ये ५० परिवारले शुक्रबार दिउँसोसम्म दशरथ रंगशाला पुगेर नाम टिपाएका छन्।

आफ्नो नाममा घर, जग्गा र पैतृक सम्पत्ति नभएको तथा आयस्रोत न्यून रहेको उल्लेख गर्दै उनीहरूले विवरण टिपाएका हुन्।

दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरुको विवरण संकलन गरिरहेको छ। 

विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ। उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ। 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले भने, “दशरथ रङ्गशालामा आइपुग्नु भएका सुकुम्बासीको विवरण सङ्कलन गरी उहाँहरुलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको छ।”

वैशाख १८, २०८३ शुक्रबार १३:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।