रोल्पा जिप दुर्घटना: एकै परिवारका ७ सहित मृत्यु भएका २० जनाकै पहिचान खुल्यो
रोल्पा : रोल्पाको थवाङ गाउँपालिका -१, जलजला नजिकै बिहिबार भएको जिप दुर्घटनामा परेका सबै मृतकको पहिचान खुलेको छ।
रुकुम पूर्वको रुकुमकोटबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका २० जनाको पहिचान खुलेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा सिस्ने गाउँपालिका रुकुम पूर्व र घोराही उपमहानगरपालिका तथा शान्तिनगर गाउँपालिका दाङका बासिन्दा रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार सिस्ने गाउँपालिका -५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीया युवा घर्ती बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी रहेका छन्। त्यस्तै १३ वर्षीय सुदीप बुढाथोकी ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कमिनी, ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुपमिना बस्नेत, सवारी चालक शान्तिनगर दाङका ४२ वर्षीय बेदु कामी र भुमे गाउँपालिका -५, का टेक प्रसाद बस्नेत रहेको बताइएको छ।
दुर्घटनामा परी घोराही उपमहानगरपालिका -१५, रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षीय बालक संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी र घोराही -१३ की धनमाया बिष्ट रहेका छन्।
दुर्घटना परेर मृत्यु भएकाको शव रुकुम पूर्वको रुकुमकोट अस्पतालमा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि आजै आफन्तलाई जिम्मा लगाइने भएको छ।
बिहीबार पूजापाठका लागि जलजला जाँदै गरेको जिप दिउँसो २ बजे भीरबाट ८ सय मिटर तल खसेको थियो। दुर्घटनास्थल भिरालो भएका कारण उद्धार कार्यमा ढिला हुन गएको हो। उक्त दुर्घटनामा एकजना घाइते भएका छन्।
वैशाख १८, २०८३ शुक्रबार १३:३२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।