टेकुको बंशीघाटमा बिहानैदेखि चल्यो डोजर (तस्बिरहरु)

टेकुको बंशीघाटमा बिहानैदेखि चल्यो डोजर (तस्बिरहरु)

काठमाडौं : काठमाडौं टेकुस्थित बंशीघाटमा रहेका सुकुम्बासी बस्ती भत्काउन थालिएको छ।

अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत सरकारले शुक्रबार टेकुको बंशीघाटमा रहेको सुकुमबासी बस्तीमा डोजर लगाएको हो। 

बिहीबारदेखि नै सामान ‌ओसारिरहेका सुकुम्बासीले शुक्रबार बिहान डोजर चल्दै गर्दा पनि आफ्ना सरसामान ओसार्न व्यस्त देखिन्थे। कतिपयले घर टहराबाट निकालेका सामानहरू सडक पेटी र खुला ठाउँमा राखेका छन् भने कतिपय स्थानीयहरू आफू वर्षौँदेखि बस्दै आएको घर भत्किरहेको दृश्य टुलुटुलु हेर्न विवश छन्।

आज बिहान ८ बजे नै बंशीघाट पुगेको सरकारी टोलीले पौने ९ बजेदेखि बस्ती भत्काउन सुरू गरेको हो। बस्ती भत्काउन सातवटा भन्दा बढी उपकरण  त्यस क्षेत्रमा परिचालन गरिएको छ। घर टहरा भत्काउन डोजरसँगै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र महानगर प्रहरी बल परिचालन गरिएको छ।

सरकारले यसअघि वैशाख १२ गतेदेखि नै काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायतका क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाउन डोजर चलाएको थियो। सोही अभियानलाई निरन्तरता दिँदै आज बंशीघाट क्षेत्र खाली गराउन थालिएको हो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो।

वैशाख १८, २०८३ शुक्रबार ११:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।