सुकुम्बासीलाई रविको आश्वासन - 'सरकारले कसैलाई पनि घरबारविहीन हुन दिने छैन'

सुकुम्बासीलाई रविको आश्वासन - 'सरकारले कसैलाई पनि घरबारविहीन हुन दिने छैन'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन्।

आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने बताए।
 
“जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई पटकपटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ”, सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका प्रवक्ता मनिष झाले भने, “ढल र बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो।”
 
सभापति लामिछानेले देशैभरि अव्यवस्थित बसोबाससम्बन्धी समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र सम्बोधन गरिने बताए। 

“सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयका लागि सुझाव स्वागत योग्य छ”, उनले भने, “तर अनावश्यक राजनीतिकरण गर्नुहुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो।”

वैशाख १६, २०८३ बुधबार १६:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।