विपद् पूर्वतयारीका लागि सुकुम्बासीको विवरण मागिएको सेनाको स्पष्टीकरण

विपद् पूर्वतयारीका लागि सुकुम्बासीको विवरण मागिएको सेनाको स्पष्टीकरण

काठमाडौं : नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण माग गरिएको विषयमा विषयमा स्पष्टीकरण दिएको छ। 

बुधबार एक विज्ञप्ती जारी गर्दै सैनिक मुख्यालय जङ्गी अड्डाले सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र प्रतिकार्य योजनाका लागि तथ्याङ्क संकलन गरिएको जनाएको हो। 

सेनाले सुकुम्बासीको विवरण मागेको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न टिकाटिप्पणी भएपछि सेनाले यस्तो स्पष्टीकरण दिएको हो। 

वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानको जोखिम बढ्ने भएकाले मानवीय र भौतिक क्षति कम गर्न पूर्वतयारी स्वरूप विवरण मागिएको सेनाको भनाइ छ। सेनाका स्थानीय युनिटहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रभित्र पर्ने उच्च जोखिमयुक्त क्षेत्रहरूको पहिचान र नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

सेनाले विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई मध्यजनर गर्दै  सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा यस्तो विवरण संकलन गरिएको स्पष्ट पारेको छ।

वैशाख १६, २०८३ बुधबार १५:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।