वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं : आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मङ्गलबार राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ का २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ का ३९ वर्षीया भीमकुमारी गुरूङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवान्राज ठकुरीलाई मङ्गलबार पक्राउ गरिएको हो। 

पक्राउ परेकामध्ये ज्वालाकुमारीले अजरबैजान पठाइदिन्छु भन्दै पीडितबाट तीन लाख ३४ हजार, भीम कुमारीले हङकङ पठाइदिन्छु भनेर पाँच लाख  र भगवान्राजले बेलायत पठाइदिने प्रलोभनमा एक लाख २० हजार ठगेका थिए। 

पीडितहरूको उजुरीको आधारमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अभियुक्तहरूलाई कारबाहीको लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।

वैशाख १६, २०८३ बुधबार १४:०१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।