१५ दिनमा ६१६ विपद्का घटना : ३४ जनाको मृत्यु, ११ करोड हाराहारीको क्षति

१५ दिनमा ६१६ विपद्का घटना : ३४ जनाको मृत्यु, ११ करोड हाराहारीको क्षति

काठमाडौं : बैशाख महिनामा मुलुकभर प्राकृतिक विपद्का घटनामा वृद्धि भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १६ गतेसम्मका ६१६ विपद्का घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन्। 

प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा ८२९ परिवार प्रभावित भएका छन्।  विपद्का कारण २५० घरमा आंशिक र ६५ घरमा पूर्ण क्षति पुगेको छ। साथै ७८ गोठमा क्षति पुगेको छ भने २१३ वटा पशुचौपाया नष्ट भएका छन्। यी घटनाबाट करिब १० करोड ९२ लाख ५५ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। 

घटनाको प्रकृतिअनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। २६७ आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने ठूलो धनमालको क्षति भएको छ। आगलागीबाट मात्रै झण्डै नौ करोड ७५ लाख बराबरको क्षति भएको छ। 

त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन्। हुरीका ४४ घटनाबाट ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ। 

अन्य घटनामा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन्। जङ्गल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय भएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो समय सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र जङ्गल डढेलोका घटना बढिरहेका छन्। विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ। 

वैशाख १६, २०८३ बुधबार १२:५९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।