गोकुलगंगा गाउँपालिकामा आइतबार पनि कार्यालय र विद्यालय खुल्ने, दुई दिने बिदाको निर्णय अस्वीकार
रामेछाप : रामेछापको गोकुलगंगा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ।
गाउँ कार्यपालिकाको वैशाख १५ गते बसेको बैठकले वैशाख १६ गतेदेखि लागू हुने गरी आइतबार पनि कार्यालय र विद्यालयहरू यथावत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
संघीय सरकारको सातामा दुई दिन बिदा दिने निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरू नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।
गाउँपालिकाले जारी गरेको सूचनामा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको वार्षिक पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ। साथै, दुर्गम क्षेत्रका बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुने र इन्धन बचतको उद्देश्य ग्रामीण भेगमा खासै सान्दर्भिक नदेखिएको गाउँपालिकाको ठहर छ।
जनसेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन पनि आइतबार कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
सूचना अनुसार गाउँपालिका तथा वडा कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म, विद्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछन्।
गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले सबै कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।
वैशाख १६, २०८३ बुधबार १०:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।