यी १५ जिल्लामा आज साँझदेखि भोलि विहानसम्म तीव्र हावाहुरीको पूर्वानुमान
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा तीव्र गतिको हावाहुरी चल्ने भन्दै विशेष बुलेटिन जारी गरेको छ।
महाशाखाले आज बिहान ८ बजे हावाहुरी सम्बन्धी चेतावनी जारी गर्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिम नेपालबाट क्रमशः पूर्वतर्फ सर्दै गइरहेको छ।
यस प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा मौसम प्रभावित हुनेछ।
हावाहुरी आज अपरान्ह ४ बजेबाट सुरू भई भोलि बिहान ६:४५ बजेसम्म कायम रहने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले जारी गरेको चेतावनी अनुसार सुदूरपश्चिमको कञ्चनपुर, डडेल्धुरा र डोटी, लुम्बिनीको बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी पश्चिम, गण्डकी र बागमतीको नवलपुर र चितवन, मधेशको बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशको झापा र मोरङमा हावाहुरीको सम्भावना छ।
यो मौसमी प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै जाने क्रममा रहेकोले देशका अन्य स्थानमा पनि यसको आंशिक प्रभाव पर्न सक्नेछ।
महाशाखाले तीव्र हावाहुरी, चट्याङ्ग र असिनापानीबाट हुनसक्ने सम्भावित जोखिम तथा जनधनको क्षति न्यूनीकरण गर्न सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
वैशाख १६, २०८३ बुधबार १०:१७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।