डा. कपिलको निर्देशनमा ‘गौँथली’को पुनर्जन्म

डा. कपिलको निर्देशनमा ‘गौँथली’को पुनर्जन्म

काठमाडौं : दुई वर्षअघि फिल्म ‘ह्यारीकी प्यारी’ निर्देशन गरेर नेपाली फिल्म उद्योगमा प्रवेश गरेका डा. कपिल रिजालले दोस्रो फिल्म निर्माणको तयारीमा जुटेका छन्। आफ्नै बुबा डाक्टर भोला रिजालको कथा रहेको फिल्म ‘गौँथली’लाई कपिलले निर्देशन गरेका हुन्।

निर्देशक रिजालकै बुबा डाक्टर भोला रिजालले यही कथा र नाममा २५ वर्षअघि फिल्म निर्माण गरिसकेका थिए। जुन कथा र नाम ‘गौँथली’मै कपिलले फिल्म निर्माण गरेका छन्। उनीहरूले त्यो बेला हलमा ५१ दिन मनाउन सफल भएको यो फिल्मको कथा र नाममा नयाँ स्वरूपसहित कपिलले निर्देशन गर्न लागेका हुन्। 

आगामी साउन १ गतेलाई प्रदर्शन मिति तयसमेत गरिसकेका छन्। अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई जोडीको रूपमा राखिएको छ। उनीहरूका अनुसार शिखर व्यक्तित्व मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

यसअघिको फिल्म ‘गौँथली’लाई वसन्त श्रेष्ठले निर्देशन गरेका थिए भने यस फिल्ममा परीक्षा अधिकारी, दीक्षा दुलाल, सदीक्षा दुलाल लगायतले अभिनय रहेको थियो। फिल्मले फिल्मको शीर्षकले भनेझैँ ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको कथामा निर्माण भएको निर्माण पक्षको भनाई छ।

फिल्म पटकथा तथा संवाद लेखनमा निर्देशक रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्यमा गरेका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन्।

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ। फिल्मलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी.कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन्। डिजिटल अधिकार ‘ओएसआर डिजिटल’सँग रहेको छ।

यद्यपि नेपालीमा पुराना फिल्मको नाममा निर्माण भएको अधिकांश फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको देखिएको छैन। तीन साताअघि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाई’होस् या महँगो खर्चमा निर्माण गरिएको फिल्म ‘बलिदान’। यी दुवै फिल्मले निर्मातालाई नाफा कमाएर दिन सकेनन्। अब रिजाल परिवारले निर्माण गर्न लागेको फिल्म ‘गौँथली’ कति सफल हुला ? प्रतीक्षाको विषय बनेको छ।  

वैशाख १५, २०८३ मंगलबार १८:२६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।