वादी अभियन्ताले प्रशंसा गरेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश

वादी अभियन्ताले प्रशंसा गरेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’को पोस्टर रिलिजबाटै चर्चामा थियो। पोस्टरमा उनलाई देखाइएको फरक चरित्रका कारण पनि चर्चा पायो। त्यसपछि फिल्ममा समावेश गीत ‘मायालाई के दिऊँ म बैना’ होस्, या ‘मै राम्री छु त नी’ सार्वजनिक गरियो।

फिल्मको टिजर र ट्रेलरले सार्वजनिक हुँदासम्म बादी समुदायको कथामा आधारित रहेको प्रष्ट भयो। निर्माण टिमले पनि सोही विषयलाई प्रचारप्रसारको मुद्दा बनाएको थियो। यता फिल्म चल्न पाँच दिनअघि केही वादी समुदायको अभियन्ताबाट समेत राम्रो प्रतिक्रिया आएको थियो।

षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’को सोमबार साँझ आकस्मिक पत्रकार सम्मेलन गरेको थियो। हात्तिसारस्थित पुरानो नेपाल हाउसमा राखेको आकस्मिक पत्रकार सम्मेलनमा बादी समुदायका प्रतिनिधिले फिल्मको कथामा केही विषयबाहेक आफूलाई ठिक लागेको बताए। 

तर, सोही क्रममा उनीहरूले फिल्मको प्रसंगभन्दा बाहिरको कुरा अर्थात् वादी समुदायका मान्छे मन्त्री बनेको भन्दै हर्षित बनेका देखिन्थे। उनीहरूको मुहारमा फिल्मले वादी समुदायको भावनामा कुनै ठोस पुग्ने काम नगरेको प्रष्ट देखिन्थ्यो। आधा दर्जनभन्दा बढी वादी समुदाय उपस्थित भएको उक्त पत्रकार सम्मेलनमा कोही दुखी देखिएनन्। फिल्मप्रति प्रतिक्रिया दिँदा असन्तुष्ट व्यक्त गरिएन।

पत्रकार सम्मेलनमा उपस्थित भएकी वादी समुदायकी देवीसरा वादीले फिल्मको मुख्य कथा आमा र छोरीको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुग्ने वा अपमान नहुने बताएकी थिइन्। उनले भनिन्, "हामीले फिल्म हेरिसकेका छौं। केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाउनुभयो, हामी कृतज्ञ छौं। यो कथाले वा लालीबजार फिल्मले हाम्रो समुदायको भावनामा ठेस पुर्याउने कुनै काम गरेको छैन।"

सोही पत्रकार सम्मेलनमा वादी समुदायका अभियन्ता हिक्मत वादीले पनि फिल्मले आफ्नो समुदायको भावनालाई कुनै ठेस पुग्ने खाल्को नरहेको बताए। उनीहरू फिल्मको भन्दा पनि बढी आफ्नो समुदायबाट मन्त्री बनेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई र धन्यवाद दिनमा समय खर्चिए।

यता सोमबार नै वादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको थियो। फिल्म प्रदर्शनमा आउन चार दिनअघि मात्र रिट दायर भएको थियो। रिटमा फिल्मले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गरिएको छ। 

यता केन्द्रीय चलचित्र जाँच समितिले ‘लालीबजार’लाई सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ सर्टिफिकेट दिइसकेको छ। तर, मंगलबार ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ। अन्तरिम आदेश दिने नदिने विषय भने छलफलपछि मात्र टुंगिने उल्लेख गर्दै उच्च अदालतले वैशाख २२ गतेको पेसी तोकेको छ।

निर्माण टिमले मंगलबार फिल्मको प्रिमियर राखेको थियो। त्यो समेत क्यान्सिल भएको जानकारी दिएको छ। यता फिल्मको प्रदर्शन रोकिने हल्लाले नेपाल चलचित्र निर्माता संघले मंगलबार बिहानै फिल्म मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको सशक्त माध्यम भएको भन्दै प्रदर्शन नरोक्न विज्ञप्ति नै जारी गरेको थियो।

संघका अध्यक्ष उदय कुमार ईङ्नामले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिल्म केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको सशक्त माध्यम भएको र करोडौं रुपैयाँको लगानी र सयौं प्राविधिक तथा कलाकारहरूको वर्षौंको मेहनतबाट निर्माण भएको फिल्मलाई प्रदर्शनको अन्तिम तयारीमा रहँदा अवरोध सिर्जना हुनुले समग्र उद्योगलाई नै सशंकित बनाएको संघको उल्लेख गरेका छन्। 

यम थापाको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, अभय बराल लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा सधैँ फिल्म निर्देशन गर्दै आएका प्रदीप भट्टराई यस पटक कार्यकारी निर्माताका रूपमा आएका छन्। फिल्मको निर्माता रवीन्द्र सिंह बानियाँ र षट्कोण आट्र्सको ब्यानरमा यसअघि ‘टलकजंग भर्सेस टुल्के’,‘जात्राका तीन श्रृंखला र ‘महापुरुष’  निर्माण गरेको थियो। सबै फिल्म सफल भएका थिए।

वैशाख १५, २०८३ मंगलबार १६:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।