एउटै प्रश्नले हैरान रामकृष्ण !
काठमाडौं : गायक रामकृष्ण ढकाल यतिबेला एउटै प्रश्नको ‘टर्चर’मा छन्। जहाँ पुगे पनि, जुन पत्रकार भेटे पनि उनीमाथि एउटै प्रश्नको वर्षा हुन्छ- ‘रामकृष्णजी, फिल्ममा चाहिँ किन नखेल्नुभएको? हिरो बन्न मन छैन र?’
पछिल्लो एक महिनादेखि ढकालले यो प्रश्न नसुनेको सायदै कुनै दिन होला। सोमबार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा पनि दृश्य उस्तै देखियो।
आगामी वैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मालती मङ्गले’को ट्रेलर रिलिज कार्यक्रम थियो। फिल्मका निर्माता समेत रहेका रामकृष्ण हलभित्र छिरेदेखि बाहिर ननिस्किउन्जेल पत्रकारहरूले उनलाई प्रश्नले घेरिहाले, ‘तपाईं आफैँ हिरो हुनुहुन्थ्यो, यसपालि निर्माता मात्रै किन?’
रामकृष्णले निकै धैर्यताका साथ एउटै जवाफ फर्काइरहे- ‘म यो फिल्मको पात्रका लागि फिट छैन।’ तर, पत्रकारहरू कहाँ मान्नेवाला थिए र! उनीहरूले ढकाललाई २५ वर्षअघिको हिट फिल्म ‘आशिर्वाद’को याद दिलाउँदै हिरो बन्न फेरि दबाब दिए।
आफ्ना म्युजिक भिडियोमा बकाइदा अभिनय गर्दै आएका ढकाल फिल्ममा भने यसपालि पर्दा पछाडि बसेर लगानी गर्नमै रमाएका छन्। प्रश्नको उत्तर दिँदा-दिँदा उनी यति हैरान देखिन्थे कि मानौँ उनीसँग अब भन्ने शब्द नै बाँकी छैन।
तर, फिल्म ‘मालती मङ्गले’मा भने दर्शकले विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरी जस्ता म्याच्युर्ड कलाकारहरूको अभिनय हेर्न पाउनेछन्। फिल्ममा नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि अभिनय छ।
रामकृष्ण ढकाल पर्दा अगाडि नदेखिए पनि उनको स्वर भने फिल्ममा सुन्न पाइनेछ। ‘सुनैको सपनी’ बोलको गीतमा उनले रचना रिमालसँग युगल गायन गरेका छन्। फिल्ममा अन्य गीतहरू ‘ढुङ्गा माथि लेउ’ र ‘झ्याम पारम’ पनि समावेश छन्।
नयाँ निर्देशक प्रकु पाण्डेयको निर्देशन र कथा रहेको यस फिल्मलाई रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टले मिलेर बनाएका हुन्।
फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईंले लगानीमा साथ दिएका छन्।
रामकृष्णले यसपालि त ‘पात्र सुहाउँदो भइनँ’ भनेर उम्किए, तर के अर्को फिल्ममा उनी आफैँ हिरोका रूपमा कमब्याक होलान् त? उत्तर पाउन भने अझै केही समय कुर्नै पर्ला!
वैशाख १५, २०८३ मंगलबार १४:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।