विराजको गफ भर्सेस बक्स अफिस : ‘राम नाम सत्य’ले निर्माताको गोजी रित्तै, तुलसी घिमिरेको ‘पहाड’को झनै बिजोग!

विराजको गफ भर्सेस बक्स अफिस : ‘राम नाम सत्य’ले निर्माताको गोजी रित्तै, तुलसी घिमिरेको ‘पहाड’को झनै बिजोग!

काठमाडौं : नयाँ वर्षको छेको पारेर दुई साताअघि हलमा दुई ठूला फिल्म रिलिज भए। एकातिर एक्सन स्टार विराज भट्ट, अर्कोतिर लेजेन्डरी निर्देशक तुलसी घिमिरे।

तर, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टको गणित हेर्दा यी दुवै फिल्मले निर्माताको मुटुको ढुकढुकी बढाउनेबाहेक गोजी भर्ने काम भने गर्न सकेका छैनन्।

चैत २७ गते सोलो रिलिजको मौका पाएको विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्य’ले १६ दिनमा बल्लतल्ल ३ करोडको आँकडा पार गरेको छ।

विराजको गफ एकातिर, व्यापार अर्कोतिर
शनिबार रातिसम्म १ लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएको यो फिल्मले जम्मा ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सुरुवाती ९ दिनमा २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ कमाएको फिल्मले पछिल्लो एक सातामा ५३ लाख ३९ हजार ९८० रुपैयाँ मात्र कलेक्सन गर्यो। 

रमाइलो कुरा त के छ भने, हालै अभिनेता विराज भट्टले फिल्मको लगानी ३ करोड रहेको र लगानी सुरक्षित भएर नाफा कमाउन थालेको गफ दिएका थिए।

तर, बक्स अफिसको ‘थम्ब रुल’ हेर्ने हो भने ३ करोड लगानी उठाउन हलबाट कम्तीमा ८ करोडमाथिको व्यापार गर्नुपर्ने हुन्छ।

त्यसैले विराजले ‘लगानी उठ्यो’ भने पनि निर्माताद्वय उपेन्द्र शाही र श्वेता विमलीको गोजी भने अझै रित्तै छ भन्दा फरक पर्दैन।

फिल्ममा विराजका अलावा सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुशील श्रेष्ठ, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसी जस्ता कलाकार छन्। यही फिल्मबाट खुशी कार्की र आयुषसिंह ठकुरीले डेब्यु पनि गरे।

तर निर्माण पक्षले फिल्म बेच्नका लागि हिरोइनहरूभन्दा बढी विराज र टिकटकबाट भाइरल भएका आयुषलाई अगाडि सार्यो।

हलमा पुगेपछि भने दर्शकले धोका पाए, किनकि प्रचारमा छाएका आयुष फिल्ममा जम्मा तीनवटा दृश्यमा 'झुलुक्क' मात्र देखिएका छन्। फिल्मको निर्देशन र पटकथा माइकल चन्दले तयार पारेका हुन्।

तुलसी घिमिरेको ‘पहाड’: न उठ्यो, न टिक्यो
‘राम नाम सत्य’ रिलिज भएको तीन दिनपछि अर्थात् वैशाख १ गतेबाट रिलिज भएको फिल्म ‘पहाड’ को अवस्था त झनै टिठलाग्दो छ। पुराना र हिट फिल्मका पर्याय मानिने निर्देशक तुलसी घिमिरेको यो फिल्मले बक्स अफिसमा एक करोडको आँकडा छुन पनि सकेन।

प्रदर्शनको १२ दिनमा जम्मा १९ हजार ५३९ वटा टिकट बेचेको फिल्मले ६१ लाख ७७ हजार २६२ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। पहिलो साता ४६ लाख ७३ हजार ६३७ रुपैयाँ कमाएको फिल्मले दोस्रो सातामा 'वर्ड अफ माउथ'ले दर्शक तान्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन।

सायद, यसलाई तुलसी घिमिरेको करियरकै सबैभन्दा कमजोर निर्देशकीय फिल्म भन्दा फरक नपर्ला। अब व्यापारमा कुनै जादु नै भयो भने बेग्लै कुरा, नत्र फिल्मको हरिबिजोग पक्का छ। 

विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रवीन्द्रसिंह बानियाँ जस्ता दिग्गज कलाकारदेखि रेनुनाथ योगी, अरुण क्षेत्री र सलोना बज्राचार्यसम्मको अभिनय रहेको ‘पहाड’ ले दर्शकको मन जित्न सकेन। 

यसै फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा डेब्यु गराएका थिए। फिल्ममा रञ्जित गजमेरको संगीत र भारती घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। 

यसै त हलमा दर्शकको खडेरी भोगिरहेका यी दुवै फिल्मलाई गत शुक्रबारबाट अर्को झड्का लागेको छ। नयाँ फिल्म ‘परालको आगो’ प्रदर्शनमा आएपछि ‘राम नाम सत्य’ र ‘पहाड’ दुवैको शो हलहरूमा ह्वात्तै खुम्चिन पुगेको छ।

वैशाख १४, २०८३ सोमबार १३:५३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।