सालीनदीमा प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीबीच झडप, एक जना घाइते

सालीनदीमा प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीबीच झडप, एक जना घाइते

काठमाडौं : काठमाडौंको शङ्खरापुर नगरपालिका–५ स्थित सालीनदी किनारमा लागुऔषध कारोबारी र प्रहरीबीच झडप भएको छ। 

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिने क्रममा कारोबारीले  प्रहरीलाई लक्षित गरी गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको थियो।

प्रहरीको गोली लागेर मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा घाइते भएका छन्। उनको अहिले सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।  

प्रहरीले जिम्बासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान पेस्तोल, एक म्याग्जिन र तीन राउण्ड गोली बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

वैशाख १३, २०८३ आइतबार १४:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।