अहिलेसम्म वास्तविक होमलेस भेटेकै छैनौं - नगर प्रहरी प्रमुख जोशी
काठमाडौं : सरकारले थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती हटाउने कार्यलाई तीव्रता दिएको छ।
काठमाडौं महानगरपालिका र संघीय सरकारको संयुक्त प्रयासमा शनिबार र आइतबार दुई दिन लगाएर बस्ती हटाउन लागिएको हो।
बस्ती खाली गर्न शनिबार बिहानैदेखि महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
बस्ती खाली गराउन खटिएको नेपाल प्रहरीहरू लत्ताकपडा, भाँडाकुँडा र ग्यास सिलिन्डर बाहिर निकाल्न र सुरक्षित स्थानमा सार्न सघाइरहेका छन्।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीले हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताएका छन्।
उनले भने, ‘अहिलेसम्म वास्तविक होमलेस भेटेकै छैनौं। जो असक्त, वृद्ध, गर्भवती महिलाहरू हुनुहुन्थ्यो, उहाँहरूले जहाँ जान्छु भन्नुभयो, त्यहीँ पठाएका छौं। ठाउँ छैन भनेर एकजना पनि आउनुभएको छैन। दुईवटा परिवारलाई बिरामी भएर अस्पताल पुर्याएका छौं। उहाँहरूको सामान पुर्याउन चारवटा ट्रक पनि परिचालन गरेका छौं। भित्र ट्रस, टहराहरूबाट सामान बाहिर निकाल्ने काम भइरहेको छ।’
उनले थपे, ‘होमलेस नभएकाहरु सबै आ–आफ्नो गन्तव्यतिर लागिरहनुभएको छ। कोही होमलेस हुनुहुन्छ भने आउनुस् भन्दा कोही आउनुभएकै छैन।’
नगर प्रहरी प्रमुख जोशीका अनुसार संघीय प्रहरीको संख्या यकिन नभए पनि काठमाडौं महानगरपालिकाले दुई सय नगर प्रहरी परिचालन गरेको छ।
वैशाख १२, २०८३ शनिबार ११:१५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।