चैतमा ९०६ विपद्का घटना : तीस जनाको मृत्यु, ३३ करोडभन्दा बढीको क्षति
काठमाडौं : गत चैत महिनामा देशका विभिन्न भागमा भएका प्राकृतिक विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ। आगलागी, हावाहुरी, चट्याङ र हिमपात जस्ता विपत्तिले जनधनको ठुलो क्षति पुर्याएको नेपाल प्रहरीले जनाएको छ।
विपद्मा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो।
विपत्तिमा परेर २२२ जना घाइते भएका छन्। विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन्।
विपद्बाट ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ। विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
विपद्बाट १४३ जना विस्थापित भएका छन्। सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ।
वैशाख १०, २०८३ बिहीबार १२:४३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।