२ सय करोडको सम्पत्ति शुद्धीकरणमा जेलमा रहेका सुकेशले ज्याकलिनलाई लेखे चिठी, भने- ‘प्रेम र युद्धमा सबै जायज छ’
एजेन्सी : २०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले सरकारी साक्षी बन्न अदालतमा निवेदन दिएकै बेला मुख्य आरोपी सुकेश चन्द्रशेखरले जेलबाट उनलाई फेरि चिठी पठाएका छन्।
२१ अप्रिलमा लेखिएको उक्त चिठीमा सुकेशले ज्याकलिनलाई ‘बेबी बोम्मा’ र ‘माई ज्याकी’ भनेर सम्बोधन गरेका छन्। उनले चिठीमा लेखेका छन्, ‘प्रेम र युद्धमा सबै कुरा जायज छ। जेसुकै भए पनि म सधैं तिम्रो साथमा उभिनेछु।’
सुकेशले सन्देशमा अगाडि लेखेका छन्, ‘तिमी मेरो हौ र म सधैं तिम्रो हुनेछु।’
उनले ज्याकलिनलाई धेरै याद गरिरहेको र यो सम्बन्ध आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्। चिठीको अन्त्यमा उनले ‘जेएफएस फरएभर’ लेख्दै आफूलाई ‘बेबी ब्वाय’ भनेका छन्। यो चिठी भारतीय समाचार एजेन्सी आईएएनएसले सार्वजनिक गरेको हो।
जेलबाट निरन्तर चिठी
ठगी र मनि लन्डरिङको आरोपमा जेलमा रहेका सुकेशले ज्याकलिनलाई अहिलेसम्म एक दर्जनभन्दा बढी चिठी पठाइसकेका छन्। उनले होली, इस्टर, क्रिसमस, भ्यालेन्टाइन डे, महिला दिवस र जन्मदिन जस्ता हरेक विशेष अवसरमा ज्याकलिनलाई चिठी लेख्ने गरेका छन्।
हालै ज्याकलिनले यस मुद्दामा सरकारी साक्षी बन्न दिल्लीको अदालतमा निवेदन दिएकी छन्। यस विषयमा जवाफ पेस गर्न भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले समय मागेको छ। अब यस मुद्दाको अर्को सुनुवाइ मे ८ मा विशेष न्यायाधीश प्रशान्त शर्माको अदालतमा हुनेछ।
यस मुद्दामा ज्याकलिनसँग धेरैपटक सोधपुछ भइसकेको छ भने ईडीले उनलाई पनि आरोपी बनाएको छ। यसअघि आफ्नो नाम मुद्दाबाट हटाउन ज्याकलिनले दिएको निवेदन दिल्ली उच्च अदालत र सर्वोच्च अदालतले खारेज गरिदिएका थिए।
सुकेशमाथि के छ आरोप?
सुकेशमाथि रैनब्याक्सीका पूर्व प्रमोटर शिविन्दर सिंहकी पत्नी अदिति सिंहलाई झुक्याएर करिब २०० करोड भारु ठगी गरेको आरोप छ।
अनुसन्धानका क्रममा सुकेशले त्यही ठगीको पैसाले ज्याकलिनलाई करोडौंका महँगा उपहार दिएको खुलेको थियो। त्यसैकारण ईडीले ज्याकलिनलाई पनि यस मुद्दामा तानिएको हो। सुकेश हाल दिल्लीको मण्डोली जेलमा छन्। उनलाई नोभेम्बर २०२३ मा तिहाड जेलबाट यहाँ सारिएको थियो।
ईडीका अनुसार ज्याकलिनसँग मित्रता बढेपछि सुकेशले उनीमाथि ७ करोड भारुभन्दा बढी खर्च गरेका थिए।
सुकेशले ज्याकलिन र उनको परिवारलाई महँगा गहना, चारवटा पर्सियन बिरालो, ५७ लाख भारु पर्ने एउटा घोडा, बहराइनमा रहेका ज्याकलिनका आमाबुवालाई १ करोड ८९ लाख भारु पर्ने दुईवटा गाडी, ज्याकलिनको भाइलाई एसयूभी गाडी तथा ज्याकलिनकी दिदीलाई सवा करोड भारु पर्ने बीएमडब्लु कार दिएका थिए।
वैशाख १०, २०८३ बिहीबार १२:२५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।