सांसद बन्न नपाएकोमा प्रकाश सपुतलाई छैन पश्चाताप,भन्छन् - 'राम्रो काम भएन भने ठिकै भएछ भन्नुपर्ला'

सांसद बन्न नपाएकोमा प्रकाश सपुतलाई छैन पश्चाताप,भन्छन् - 'राम्रो काम भएन भने ठिकै भएछ भन्नुपर्ला'

काठमाडौं : लोक दोहोरी गायनबाट चर्चाको शिखरमा पुगेका प्रकाश सपुत पछिल्लो समय बहुआयामिक परिचय बनाउने दौडमा छन्।

गायन, मोडलिङ र अभिनयमा आफूलाई प्रमाणित गरिसकेका सपुतले फिल्म लेखन र निर्देशनमा समेत हात हाले। यद्यपि, फिल्म 'वसन्त' मार्फत निर्देशकका रूपमा बलियो प्रभाव छाड्न भने सकेनन्। 

फिल्म ‘वसन्त’को लेखन तथा निर्देशनपछि उनको यात्रा राजनीतितर्फ मोडियो। गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका सपुत सांसदको अन्तिम सूचीमा भने अटाउन सकेनन्। यद्यपि, सांसद बन्न नपाएकोमा उनलाई कुनै पछुतो छैन।

वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘परालको आगो’ को प्रचारका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक यात्रा र समसामयिक विषयमा स्पष्ट धारणा राखे।

पत्रकारको 'सांसद नभएकै ठिक भएछ भन्ने लागेको त छैननी?' भन्ने प्रश्नमा सपुतले आफू पहिले नै प्रस्ट रहेको बताए। 

उनले भने, 'म पहिला नै क्लियर भइसकेको थिए। मेरो त्यहाँ जानुको उदेश्य चाहीँ प्रत्यक्ष रुपमा कहिँ न कहिँ एउटा सानो नीति बनाएर एउटा सानो कुरा चेन्ज गरेर आफ्नो साइडबाट योगदान गर्न सकिन्छ भन्ने लागेको थियो। अहिलेसम्म पश्चाताप छैन कि, म सांसद भइन भन्ने कुराले, अझै दुईचार महिना हेरौँ। अहिलेको सरकारले, अहिलेका सांसदले कस्तो काम गर्छन्। राम्रो काम गरे भने मलाई पश्चाताप हुन्छ, ओहो म पनि हुन्थेँ त्यहाँ भनेर, काम बिग्रिदै गएछ भने ठिकै भएछ भन्नु पर्ला। अर्को समय हेरौँला।’

विवाद र दर्शकको प्रतिक्रिया

सांसद बन्ने दौडमा रहेका बेला पत्रकारको खासै फोन नउठाएका सपुतले यसपटक भने हरेक प्रश्नको सामना गरे। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दा सामाजिक सञ्जालमा आलोचना खेपेका सपुत अहिले भने पहिलेभन्दा बढी आत्मविश्वासी देखिएका छन्। फिल्म ‘वसन्त’ रिलिजका बेला केही असुरक्षित र कम आत्मविश्वास महसुस गरेको स्वीकार्दै उनले अहिले भने आफ्नो सिर्जनामा भरोसा रहेको बताए।

उनले भने, 'वसन्त रिलिजताका मेरो जीवनमा जुन किसिमको उतारढचढाव आयो। त्यतिबेला सामाजिक सञ्जालको प्रतिक्रियाले करिअरलाई अथवा फिल्मलाई लिएर अलि डर लागेको थियो। दर्शकको त्यो किसिमको माया,रेन्स्पोन्स नपाइने होकी भन्ने डर लागेको थियो’, उनले थपे,‘ यदि सिनेमा बनाउनुहुन्छ,कथा राम्रोसँग प्रस्तुत गर्नुहुन्छ र दर्शकको मन छोएको छ भने त्यो अवश्य सफल हुन्छ। आफ्नो व्यक्तीगत कुराहरुले व्यापारको सुरुवातको चरणमा केहि असर गर्ला,त्यसपछि क्रियसन नै दमदार छ भने कसैको केहि पनि लाग्दैन भन्ने कुरा चाही हाम्रा पछिल्ला नतिजाले देखाइसकेको छ।’

गायन कि अभिनय? 

गायनबाट अभिनय र राजनीतिमा हाम हाल्दा 'दुईवटा डुङ्गामा खुट्टा राखेको' आरोप खेपिरहेका सपुतले यसलाई सकारात्मक रूपमा लिए। 

पत्रकारको दुई डुङ्गा कसरी चलाई रहनु भएको छ भन्ने प्रश्नमा सपुतले हाँस्दै भने, 'अहिले सबै विधा मर्ज (मिसिएको) भइरहेका छन्। मान्छेहरुले मलाई त्यसरी नै दुईटा डुङ्गा नै होस् भन्ने चाही रहनुभएको छ। मेरो गीतको कुरा पनि भइराखोस् अथवा सिनेमाको कुरा पनि भइराखोस् भन्ने मलाई पनि लागेको थियो', उनले थपे,  'तर हैन रैछ। अहिले एउटै डुङ्गा भइरहेको छ। मेरो गीतहरु नआइरहेका पनि होइनन्,आइरहेका छन्। यही सिनेमा (परालको आगो)मा पनि मेरो गीत छन्। दर्शकले माया पनि गरिदिनुभयो। तर गीत पनि रैछ है भनेर छुट्याएर हेर्नुभएको छैन। फिल्मकै गीत रैछ भनेर हेरिरहनुभएको छ।’

गायकबाट अभिनेता बन्ने चुनौती

नेपाली फिल्म क्षेत्रमा उदितनारायण झा, रामकृष्ण ढकाल, यश कुमार, बाबु बोगटी र श्रीकृष्ण लुइँटेल जस्ता सफल गायकहरूले नायक बन्ने प्रयास गरे पनि उनीहरूले यस क्षेत्रमा बलियो जग बसाल्न सकेनन्। 

रामकृष्ण ढकालको अभिनय यात्रा डेब्यु फिल्म ‘आशिर्वाद’मै सिमित रह्यो। यतिबेला भने ढकाल फेरि फिल्म निर्माणमा फर्किएका छन्। उनी विजय बराल र वर्षा राउतलाई लिएर ‘मालती मंगले’निर्माणमा जुटेका छन्। 

यस्तो पृष्ठभूमिमा प्रकाश सपुत भने गायक, नायक र निर्देशक तीनै भूमिकामा आफूलाई स्थापित गर्ने दौडमा निरन्तर अगाडि बढिरहेका छन्।

वैशाख ९, २०८३ बुधबार १५:५४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।