गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठनको माग
काठमाडौं : एमालेले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न माग गरेको छ।
पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्रीको संलग्नता देखिएका विषयहरूमा तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ।
"गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा एमाले जोडदार माग गर्दछ। यसका लागि अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ," विज्ञप्तिमा भनिएको छ "गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्च स्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस्।"
गृहमन्त्रीले कुनै ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न माग गरिएको छ। एमालेले आफ्नो पार्टीले सधैँ विधिको शासन र सुशासनका आधारभूत मूल्य मान्यतालाई संस्थागत गर्न प्रेरित गरिरहने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, "गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न हामी माग गर्दछौं।" विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागु हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ।

वैशाख ८, २०८३ मंगलबार १८:०३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।